चैंत २९, एजेन्सी ।
अमेरिकामा कोरोना भाइरसको महामारीले मृत्यु हुनेको संख्या लगातार बढ्ने क्रममा रहेको छ । अमेरिकामा शुक्रबार एकै दिन दुई हजार भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा दुई हजार ४३ जनाको मृत्यु भएको जनाइएको छ । सबैभन्दा धेरै न्यूयोर्कमा ७ सय ७७ तथा न्यू जर्सीमा २ सय ३२ र मिसिगनमा २ सय ५ जनाको मृत्यु भएको छ ।
अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १८ हजार ७ सय २५ पुगेको छ । यो सँगै अमेरिकामा सबैभन्दा बढी मृत्यु हुनेको सम्भावना बढेर गएको छ । यतिखेर अमेरिका सबैभन्दा बढी मृत्यु भएका इटालीको भन्दा केही पछि मात्र छ । अहिलेसम्म इटालीमा कोभिड–१९ बाट १८ हजार ८४९ को मृत्यु भएको छ । पछिल्लो रेसियोमा नै मृत्यु भएमा एकै दिनमा अमेरिकामा मृत्युहुनेको संख्या सबै भन्दा बढी हुने छ । त्यसैपनि अमेरिकामा पाँच लाख दुई हजार भन्दा बढी संक्रमित पुगेका छन् । त्यहाँका समाचार एजेन्सीहरुका अनुसार अहिलेसम्म २७ हजार ३१४ जना निको भएर घर फर्किएका छन् ।
विश्वभर अहिलेसम्म एक लाख दुई हजार ६८८ जनाको कोभिड–१९ बाट ज्यान गएको छ । यस्तै संक्रमितको संख्या १६ लाख ९७ हजार ५९६ पुगेको छ । अहिलेसम्म विश्वभर तीन लाख ७६ हजार १०९ जनामा कोरोना भाइरसको संक्रमण निको भएको छ । मृत्यु हुनेको संख्यामा अहिलेसम्म इटाली पहिलो, अमेरिका दोस्रो छ भने त्यसपछि स्पेनमा बढी हताहत भएका छन् ।
स्पेनमा १६ हजार ८१ जनाको मृत्यु भएको छ । यस्तै फ्रान्समा १३ हजार १९७, बेलायतमा ८ हजार ९५८, इरानमा चार हजार २३२, जर्मनीमा दुई हजार ७६७, नेदरल्याण्डमा दुई हजार ५११, टर्कीमा एक हजार ६, स्वीट्जरल्याण्डमा एक हजार दुई तथा ब्राजिलमा एक हजार ६८ जनाको मृत्यु भएको स्थानिय समाचार एजेन्सीहरुले लेखेका छन् ।


