बैशाख ५, काठमाडौं ।
विश्व व्यापी रुपमा कोरोना भाइरसले स्वास्थ्य क्षेत्रलाई आक्रान्त पारेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप बजेट माग गरेको छ ।
आर्थिक बर्ष २०७७÷०७८ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना नियन्त्रणका लागि मात्र १३ अर्व अतिरिक्त बजेट माग गरेको अर्थमन्त्रालय स्रोतले बताएको छ ।
राष्ट्रिय योजना आयोगको अगुवाईमा विहीबार सिंहदरबारमा भएको आगामी बर्षको बजेटसम्वन्धी छलफलमा स्वास्थ्यले कोरोना नियन्त्रणका लागि सिलिङ बाहेक अतिरिक्त १३ अर्व माग गरेको हो ।
योजना आयोगले आगामी आर्थिक बर्षका लागि स्वास्थ्यलाई ५३ अर्व ८३ करोड ५४ लाख रुपैयाँको बजेट सिलिङ पठाएको थियो । त्यसमा स्वास्थ्य बीमा ६ अर्व ५० करोड र भवन निर्माणका लागि १७ अर्व छुट्याएको स्रोतको दावी छ ।
त्यसबाहेक अरु योजना स्वास्थ्यले आवश्यकता अनुसार बनाउन तोकेको थियो । त्यसमा कोरोनाको प्रभाव बढ्दै जाँदा स्वास्थ्यले थप बजेट माग गरेको हो ।


