बैंशाख १२, काठमाडौं ।
चौतर्फी आलोचनापछि दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने निर्णय आज बसेको मन्त्रीपरिषद बैठकले गरेको छ । अव सरकारले फिर्ता लिने पत्र पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश खारेज गर्नेछिन् ।
दल फुटाउन सहज हुने र संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको भूमिका अन्त्य गर्ने अध्यादेश ल्याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना भएको थियो ।
आफ्नै दलभित्रबाट समेत व्यापक असन्तुुुष्टि आएपछि प्रधानमन्त्री अध्यादेश फिर्ता लिन सहमत हुनुभएको थियो । दुबै अध्यादेशले सत्तारुढ नेकपामा भने विवाद चर्किएको थियो । स्थायी कमिटीमा २० सदस्यले हस्ताक्षर गरेर तत्काल बैठक बोलाउन माग गर्दै अध्यक्षद्वयलाई पत्र लेखेका थिए । स्थायी कमिटी र केन्दीय कमिटी दुबैमा अल्पमतमा रहेका ओलीको अध्यादेशले प्रधानमन्त्रीको पदै जाने सम्भाबना बढेपछि ओली अन्तत दुबै अध्यादेश फिर्ता गर्न राजी हुनुभएको हो ।
बिहिबारै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले बिहीबार प्रधानमन्त्री ओलीलाई भेटेर सम्भावित दुर्घटना टार्न अध्यादेश फिर्ता लिन आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले कानुनी परामर्श गरेर फिर्ता लिन तयार रहेको बताएका थिए ।
साँझसम्म पनि अध्यादेश फिर्ता नभएपछि नेकपा सचिवालयका बहुमत सदस्यको भैँसेपाटीमा बैठक बसेर अध्यादेश फिर्ता लिन दबाब दिएको थियो । दवावमा ओलीले फिर्ता नलिए प्रधानमन्त्रीको नयाँ बिकल्प खोज्ने पक्षमा भैंसेपाटी भेला पुगेको थियो ।


