नयाँदिल्ली, २१ वैशाख । भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या दिनदिनै बढिरहेको छ । भारतमा कोरोना भाइरसका कारण हालसम्म १ हजार ३२३ जनाको मृत्यु भएको छ । त्यस्तै शनिबारमात्रै २४४२ जनाभन्दा बढी संक्रमित फेला परेका छन् । भारतमा एकैदिन थप २ हजार ४४२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३९ हजार ६९९ पुगेको छ ।
शनिबार भारतमा कोरोना संक्रमणबाट भारतीय लोकपालका न्यायिक सदस्य अजयकुमार त्रिपाठीसहित एक सय जनाको ज्यान गएको छ ।
भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । भारतको राजस्थान, तामिलनाडू, मध्यप्रदेश र केरला राज्यमा उच्च संख्या कोरोना संक्रमित रहेका जनाइएको छ ।
भारतको महाराष्ट्र सबैभन्दा बढी प्रभावित राज्य हो जहाँ गत साता मात्रै १० हजारभन्दा बढीमा संक्रमण देखिएको थियो । बढ्दो संक्रमणका कारण भारतले थप दुई साता लकडाउन लम्ब्याउने निर्णय गरिसकेको छ ।
दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउनको घोषणा गरिएको छ ।


