बैंशाख ३०, काठमाडौँ । कपिलवस्तु, रुपन्देही, पर्सा र बारामा गरी आज मंगलबार एकैचोटी ५७ जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै देशभर संक्रमितको संख्या १९१ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएका सबै ५७ जना पुरुष हुन् ।
पर्सामा एकैपटक ३९ जनामा संक्रमण हुँदा ४ जना पत्रकार परेका छन् । नारायणी अस्पतालका मेसु डा मदनकुमार उपाध्यायले जिल्लामा आज थपिएका ३९ संक्रमितमध्ये ४ जना सञ्चारकर्मी रहेको बताए ।
‘उहाँहरु जिल्लाका अगुवा सञ्चारकर्मी पनि हुनुहुन्छ । रिपोर्टिङका क्रममा कतै एक्सपोजर भइयो कि भनेर स्वाब दिनु भएको रहेछ । रिपोर्ट पोजेटिभ आएको जानकारी पाएको छु,’ डा मदनकुमार उपाध्यायले भने ।
उनले फिल्डमा खटिने सञ्चारकर्मीमा समेत अति जोखिम रहेको भन्दै जोखिएर रिपोर्टिङ गर्न आग्रह गरे ।
‘जसमध्ये कपिलवस्तु जिल्लाका ८ जना, रुपन्देहीका ९, पर्साका ३९ र बारा जिल्लाका १ जना रहेका छन,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


