Banijya News

विदेशमा समस्यामा परेका नेपाली फर्काउन शुरु, फर्किने नेपालीको व्यवस्थापन के कसरी हुन्छ ?

1
1.1K Shares


सरकारले शुक्रबार(आज)देखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन सुरु गर्ने भएको छ । सरकारले पहिलो पटक बर्मा र युएईबाट नेपाली फर्कादैछन् । शुक्रबार म्यानमार र युएईबाट नेपाली लिएर जहाजहरु आउने तालिका रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । नेपाली सेनाले शुक्रबार दुई देशबाट नेपालीहरु आउँदैछन् भन्ने जानकारी विमानस्थललाई गराएको छ ।


पहिलो पटक बर्माबाट २६ जना र संयुक्त अरब इमिरेट्सबाट २ सय ५० जना नेपालीलाई स्वदेश फर्काइने तयारी भएको गैर आवासिय नेपाली संगठन(एनआरएन) का अध्यक्ष कुमार पन्तले बताए ।
अध्यक्ष पन्तले विदेशमा अप्ठ्यारोमा परेका सबै नेपालीहरूलाई धैर्य गरी जहाँ भएपनि त्यहीँ रहेर एकअर्कालाई सहयोग पु¥याउन समेत आग्रह गरे । यसअघि संघका विदेशस्थित शाखाहरूले नेपाल फर्कन चाहनेहरूको तथ्यांक संकलन गर्दै आएका छन् ।

उद्धार गरेर ‘होल्डिङ सेन्टर’मा राखिने
विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा ७ ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । २ ‘होल्डिङ सेन्टर’ भने जगेडामा राखिएका छन् । विदशेबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा नजाँदासम्म बस्ने स्थान (होल्डिङ सेन्टर) झण्डै ३ हजार क्षमताको बनाइएको छ ।


काठमाडौैं ३, ललितपुरमा २ र भक्तपुरमा २ सेन्टर निर्माण गरिएको छ । काठमाडौं र ललितपुरमा २ होल्डिङ सेन्टर आवश्यक पर्दा प्रयोग गर्ने गरी जगेडामा तयारी अवस्थामा राखिएको छ । काठमाडौं र भक्तपुरमा १÷१ हजार क्षमताका बनाइएको छ भने ललितपुरमा ९ सय क्षमताका छन् । सबै होल्डिङ सेन्टरको व्यवस्थापनको जिम्मेवारी भने नेपाली सेनालाई दिइएको छ ।


सरकारले काठमाडौंको यती पार्टी प्यालेस बसुन्धरा, स्काईजन पार्टी प्यालेस सुकेधारा र कुण्डलिनी पार्टी प्यालेस बसुन्धारामा होल्डिङ सेन्टर तयार पारेको छ । जगेडाका रूपमा मिराकल पार्टी प्यालेस सुकेधारालाई तयारी अवस्थामा राखिएको छ । काठमाडौंमा रहेको होल्डिङ सेन्टरमा बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का नागरिकलाई छुट्टाछुट्टै रूपमा राखिनेछ । भक्तपुरमा १ हजार क्षमताका २ पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाइएको छ । जसमा सूर्यविनायक नगरपालिका –५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वेट र मध्यपुरथिमि नगरपालिका–४ स्थित हेरिटेज बैंक्वेट रहेको छ ।


ललितपुरमा ९ सय नाका लागि डिलाईट पार्टी भेन्यू महाक्ष्मीस्थान र मण्डला पार्टी भेन्यू खरिबोट ग्वार्काेमा होल्डिङ सेन्टर बनाइएको छ । यहाँ जगेडाका रुपमा सिद्धार्थ कलेज धोवीघाट तयार पारिएको छ ।


सेनाले सुरक्षा दिने
सरकारले कोभिड–१९ ले सिर्जित संकटका कारण विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न विस्तृत कार्य योजना बनाएको छ । कार्य योजना सञ्चालन, अनुगमन, नियन्त्रण र निर्देशन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) अन्तर्गत हुनेछ । सीसीएमसीलाई रक्षा मन्त्रालय (नेपाली सेना), गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहले सहयोगीको भूमिका खेल्ने छन् ।


काठमाडौंमा होल्डिङ सेन्टरको व्यवस्थापन रक्षा मन्त्रालय (नेपाली सेना) ले गर्नेछ । यसमा प्रवेश समन्वय गर्न तोकिएका मन्त्री, गृह मन्त्रालयअन्तर्गत जिल्ला प्रशासन कार्यालय र सीसीएमसीले सघाउनेछन् । होल्डिङ सेन्टर छनोट गरी प्रदेशगत रूपमा व्यवस्थापन गरिनेछ । यसमा गृह मन्त्रालय अन्तर्गत जिल्ला प्रशासन कार्यालय र रक्षा मन्त्रालय (नेपाली सेना) लाई खटाइएको छ । सहयोगीका रूपमा प्रदेश सरकार, स्थानीय तह र सीसीएमसीको प्रदेश तथा जिल्ला तहका कार्यालयहरू रहनेछन् ।


हवाई उडानबाट आउनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उड्नुअघि सात दिनको स्वास्थ्य परीक्षणको प्रमाण देखाउनुपर्छ । त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली विमानस्थलमा खटाइनेछ । उक्त टोलीलाई गृह मन्त्रालय (अध्यागमन) र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहयोग गर्नेछन् ।


खर्च ब्यावस्थापन तेस्रो देशबाट आउनेले हवाई उडान, यातायात र होटल क्वारेन्टाइन खर्च बेहोर्नुपर्नेछ । यसका लागि सहयोगी निकाय पर्यटन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र सेनालाई बनाइएको छ ।

काठमाडौं उपत्यकाभित्रको होल्डिङ सेन्टरको भाडा जिल्ला प्रशासन कार्यालयनमार्फत भुक्तानी गरिनेछ । उक्त कामको जिम्मेवारी अर्थ मन्त्रालयलाई दिइएको छ । सहयोगी निकायहरूका रूपमा गृह मन्त्रालयअन्तर्गतका जिल्ला प्रशासन कार्यालयहरू र सीसीएमसी रहेका छन् । क्वारेन्टाइनसम्बन्धी समग्र कार्यका लागि प्रदेशका मन्त्रीलाई जिम्मेवारी तोकिनेछ । यसमा स्थानीय तह र सीसीएमसीको प्रदेश र जिल्ला कार्यालयले सहयोग गर्नेछन् ।


सिमकार्ड निशुल्क पाउने
सरकारले नागरिकलाई मोबाइलको सिमकार्ड निस्शुल्क उपलब्ध गराउनेछ । उक्त काम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकम र एनसेल तथा स्थानीय तहसँग मिलेर गर्नुपर्छ । त्यसमा गृह मन्त्रालयअन्तर्गत जिल्ला प्रशासन कार्यालयहरूले सहयोग गर्नेछन् । विदेशबाट आएकाहरूले ‘हाम्रो स्वास्थ्य’ एप्स डाउनलोड’ गरी स्वास्थ्य अवस्था नियमित रूपमा अद्यावधिक गर्नुपर्छ । यसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहयोगीको भूमिका खेल्नेछ ।

प्रवेश नाका र विमानस्थलमा आउनेलाई होल्डिङ सेन्टरमा पु¥याउने, त्यहाँबाट होटल क्वारेन्टिन वा स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टाइनमा पु¥याउन यातायात साधनको व्यवस्था गरिनेछ । उक्त कामको जिम्मेवारी रक्षा मन्त्रालय (नेपाली सेना) तथा यातायात व्यवस्था विभागको संयोजनमा ट्राफिक प्रहरी महाशाखाको हुनेछ । सहयोगी भूमिका गृह मन्त्रालयअन्तर्गतका जिल्ला प्रशासन कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहको हुनेछ ।


कतिछन् स्वदेश आउँन चाहने ?
तथ्यांकअनुसार तत्कालै मध्यपूर्वबाट मात्रै झण्डै ४० हजारको नामावली संकलन भएको छ । युएईमा १८ हजार, कतारमा ८ हजार ४ सय, मलेसियामा ६ हजार २ सय, साउदी अरेबियामा ६ हजार ५ सय, बहराइनमा ३ सय र ओमनमा ७ सयजनाको प्रारम्भिक सूची हालको लागि तयारी अवस्थामा छ । उता कोरोना भाइरसको प्रभावका कारण विभिन्न मुलुकमा रहेका ५ लाख ८८ हजार ७ सय नेपाली पहिलो चरणमै स्वदेश फर्किन चाहेका छन् ।


भारतसहित श्रम गन्तव्य मुलुकहरूबाट हवाइ सेवा खुला भएलगत्तै २ लाख बढी र त्यसपछि बाँकी तीन लाभन्दा बढी नेपाली नागरिक स्वदेश फर्किन चाहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २ लाख १० हजार ८७१ नेपालीलाई तत्काल उद्धार गरेर स्वदेश ल्याउनुपर्ने र बाँकी ३ लाख ७७ हजार भन्दा बढीलाई पनि नेपाल ल्याउनुपर्ने अवस्था रहेको जानकारी दिइ सकेका छन् । तर विश्वका १ सय ९ मुलुकमा ३४ लाख ५९ हजार नेपाली रहेको परराष्ट्रको तथ्यांक छ । भारतमा भने कति नेपाली छन् भन्ने तथ्यांक छैन । सिसिएमसी स्रोतका अनुसार ४० लाखको हाराहारीमा नेपाली भारतमा रहेका छन् । तीमध्ये ६ देखि १० लाख नेपाली फर्किन सक्ने सिसिएमसीको अनुमान छ ।

1

Scroll to Top