चैतयताको शुल्क बुझाउन अभिभावकहरुलाई निजी विद्यालयले आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले आइतबार संयुक्त रुपमा शुल्क बुझाउन भनेका छन् ।
अहिले शुल्क नदिए निजी विद्यालय बन्द हुने अवस्थमा पुग्ने प्याब्सन र एनप्याब्सनको भनाइ छ ।
प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन–प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०७६ को बाँकी वक्यौता सम्भव भएसम्म चुक्ता गर्ने, २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गर्ने जस्ता आर्थिक गतिविधिमा सहभागी भई विद्यालयलाई अधिकतम सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौं ।’
उनीहरुले लकडाउनको बेला पनि इन्टरनेटको माध्यमबाट अनलाइन कक्षा सुरु गरेको, रेडियो, टीभीलगायतका सञ्चारमाध्यमबाट पढाएकोले पनि खर्च भएको दाबी गरेका छन् । सरकारले निजी विद्यालयहरूका लागि राहत प्याकेज नल्याएपछि विद्यार्थीसँग शुल्क उठाउनुको विकल्प नभएको उनीहरूको भनाइ छ ।


