नेपाल उद्योग परिसंघले हालै प्रस्ताव गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, तेश्रो संशोधन विधेयक– २०७६ ले निजी क्षेत्रलाई उद्योग व्यवसाय सञ्चालनमा निरुत्साहित गर्ने भन्दै प्रधानमन्त्रीको ध्यानकषर्ण गराएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै निवासमा भेट्न पुगेको परिसंघको टोलीले नयाँ प्रस्तावित अनुसन्धान ढाँचाले उद्योगी ब्यावसायीलाई निरुत्साहित गर्ने भन्दै फिर्ता लिने माग गरेका हुन् ।
प्रधानमन्त्री निवासमा भएको छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले वर्तमान अस्थामा उद्योगले ठूलै समस्या भोग्नु परेको अवस्थामा अख्तियारको कुरा ल्याएर उद्योगी ब्यावसायीलाई थप निरत्साहित बताएका थिए ।
प्रतिउत्तरमा प्रधानमन्त्री ओलीले प्रस्तावित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, तेश्रो संशोधन विधेयक– २०७६ ले उद्यमी व्यवसायीहरुलाई व्यवसाय सञ्चालनमा समस्या रहेको भए कुन दफामा के अप्ठेरो परेको हो त्यसको स्पष्ट जानकारी प्रस्तुत गर्न पनि परिसंघलाई भनेको एक सहभागिले बताए । प्रधानमन्त्री ओलीले प्रस्तावित विधेयकले निजी क्षेत्रलाई समस्यामा पार्ने भए छलफलका माध्यमबाट त्यसको समाधान गर्न सकिने धारणा राखेको ती सहभागिले बताए ।
भेटमा परिसंघले हालै भोग्नु परेका समस्या र त्यसको समाधानका उपायहरुको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
कोरोना भाइरसका कारण देशमा अहिले लगातार ३ महीनादेखि पूर्ण र आंशिक लकडाउन भएको कारण उद्योग, व्यापार तथा व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भई नेपालको अर्थतन्त्रमा नराम्रो प्रभाव पर्ने भएकोले यस्तो प्रतिकुल परिस्थितिमा उद्योग व्यवसायको संरक्षण गरि अर्थतन्त्रको पुर्नउत्थान गर्ने नीति अख्तियार गर्न सुझाब दिएका छन् । परिसंघको प्रतिनिधि मण्डलले विशेषगरी कर्जाको ब्याज कम गर्नुपर्ने, सम्पूर्ण कर्जाहरुको पुर्नसंरचना गर्नुपर्ने लगाएतका सुझाब दिएका छन् । उनीहरुले बन्दाबन्दिको समयमा श्रमिकको ज्याला सम्बन्धमा पनि सरकारबाट निजी क्षेत्रको लागि स्पष्ट धारणा राख्न समेत आग्रह गरेका छन् ।
सो अवसरमा अनौपचारिक क्षेत्रमा रहेको पूँजिलाई बैंकिङ क्षेत्रमा ल्याउन र तरलता वृद्धि गर्नको लागि निश्चित समयसिमा तोकी महिला तथा वालवालिकाको नाममा बैंकमा जम्मा हुने रु. १५ लाखसम्मको निक्षेप विना कुनै झन्झट स्विकृत गर्ने व्यवस्था गर्नुपर्ने सुझाव समेत दिएको छ ।
बाह्य लगानीलाई प्रोत्साहित गर्नको लागि गैर आवासीय नेपालीहरुले स्वघोषणा गरेर विदेशबाट बैंकिङ प्रणालीमार्फत नेपालमा आउने लगानीलाई स्विकृत गर्ने व्यवस्था गर्न पनि परिसंघले अनुरोध गरेको छ ।
यसले नेपालमा वाह्यपूँजि देशमा भित्र्याउनको लागि सहज हुने र देशमा लगानी वृद्धि भइ थप रोजगारीका क्षेत्रहरु सृजना गर्न सकिने परिसंघको धारणा रहेको छ । त्यसैगरी विद्यमान उद्योग व्यवसायसँग सम्बन्धित ऐन कानूनका केही झन्झटिला प्रक्रियाहरुलाई केही वर्षकोलागि खुकुलो बनाई आन्तरिक तथा वाह्य लगानी प्रवद्र्धन गर्नको लागि परिसंघले माग गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणले विसं २०७५ वैशाख ३१ गतेदेखि लोडसेडिङ समाप्त भइसकेको घोषणा गरिसकेको तर प्राधिकरणले सो मितिपछि पनि उद्योगले खपत गरेको विद्युतको विलमा थप महशुल (प्रिमियमदर) जोडि विल जारी गर्ने गरेकोले सो विजक खारेज गरि लोडसेडिङ मुक्त घोषणा भएको मितिदेखिनै डेडिकेटेड एवं ट्रंकलाइन हटाउने व्यवस्थाको लागि आवश्यक निर्देशन दिनको लागि समेत परिसंघले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले सरकारले आफ्नो उत्तरदायित्व पुरा गरिरहेकोले जनताको जिवन रक्षा पहिलो प्राथमिकतामा राखि त्यस पछि स्वतन्त्रता, सम्पत्ति र उद्योगलाई क्रमशः प्राथमिकतामा लिएर जाने धारणा राखेका सहभागिको भनाई छ ।


