राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियताको सवालमा दलहरुबीच जुटेको अभुतपुर्व एकताको प्रशंसा गरेकी छिन । संघीय संसदका दुवै सदनले संविधान संशोधन विधेयक सर्वसम्मत पारित गरेको प्रशंग उठान गर्दै राष्ट्रपति भण्डारीले दलहरुबीच कायम एकताले मुलुकमा नयाँ शिराको सुरुवात गरेको बताएकी छिन् । राष्ट्रपति भवन शितल निवासमा बुधबार प्रमुख दलका नेताहरु, पूर्वप्रधानमन्त्रीहरु लगायत नेताहरुसँग गरेको परामर्श उनले सो धारणा व्यक्त गरेकी हुन् ।
संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई आज साँझ शितल निवास बोलाएर राष्ट्रपति भण्डारीले लिपुलेकदेखि लिम्पियाधुरासम्मको जमिनको भोगाधिकार समेत कायम गर्ने गरी तत्काल पहल थाल्न सुझाव दिएकी हुन् ।
भेटमा राष्ट्रपति भण्डारीले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि भइरहेको पहल सकारात्मक रहेको चर्चा गरेकी छिन् । उनले दिनरात नभनी कोरोना नियन्त्रण, रोकथाम र उपचारमा खटिएका तीनै तहका सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी प्रशंसाका पात्र भएको बताएकी राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताए ।
राष्ट्रपतिले बोलाएको छलफलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोट, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्ब प्रधानमन्त्री शेर बहादुर देउवा,झलनाथ खनाल, माधव नेपाल, बाबुराम भटराई, खिलराज रेग्मी, उपप्रधानमन्त्री इश्वर पोखरेल, नेकपा नेता वामदेव गौतम, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, राप्रपा अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्र बहादुर केसी, कांग्रेस नेता रामशरण महत, ज्ञानेन्द्र बहादुर कार्की लगायत उपस्थित थिए ।


