साना होटल व्यवसायीहरुको छाता संगठन महासंघले विभिन्न १४ वटा माग राख्दै तत्काल पुरा गर्न सरकारलाई आग्रह गरेको छ । महासंघले १४ बुँदे माग तत्काल सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।
कोभिड–१९का कारण सबै होटल बन्द भएको तर सरकारले साना होटलहरुलाई बेवास्ता गरेको भन्दै महासंघले विभिन्न १४ वटा माग राख्दै तत्काल पुरा गर्न सरकारलाई आग्रह गरेको हो । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी महासंघका अध्यक्ष हिराध्वज शाहले विषम परिस्थितिमा सरकारले ठूला तारे होटल र साना होटलहरु बीच विभेद गरेको आरोप लगाउदै माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन्।
साना होटलहरुले विदेशबाट आउने नागरिकलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्न बिना शुल्क होटल दिन तयार रहँदा समेत तारे होटलमा महँगो शुल्क तिर्न बाध्य पारिएको उनले बताए । अध्यक्ष शाहले विदेशबाट आउने नागरिकको इच्छा अनुसार सस्तो दरका होटलमा क्वारेन्टाइन बस्न पाउने गरी व्यवस्थापनगर्न माग गरे । व्यवसायीहरुले तीन वटै तहका सरकारले पर्यटन व्यवसायसँग सम्बन्धित राजस्व सम्बन्धी नीति नियम तर्जुमा गर्दा महासंघ मातहतका निकायहरुको प्रतिनिधित्व गराउन समेत माग गरेका छन् ।
होटल व्यवसायीहरुले घरभाडामा ५० प्रतिशत छुटको व्यवस्था गर्न र घरभाडा छुट दिने घरधनिको बैंक ऋणको ब्याजमा सहुलियत दिन समेत माग गरेका छन्।
यस्तै लकडाउन खुलेपछि पनि तत्काल होटल सञ्चालन नहुने भएकाले बिजुली पानीको महशुलमा १ वर्षसम्म छुट दिनुपर्ने, टेलिफोन, इन्टरनेटमा विशेष सहुलियत दिनुपर्ने, एकवर्षको व्यवसाय कर तथा राजश्वमा छुट गर्नुपर्ने, बैंकको ऋण र ब्याज भुक्तानी गर्ने अवधि २ वर्ष थप्नुपर्ने, सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने, होटलहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गराउन र सुरक्षा सावधानी अपनाएर होटल खोल्ने व्यवस्था गर्न होटल व्यवसायीहरुले माग गरेका छन् ।


