Banijya News

‘आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि हुनेछ ।’ अर्थमन्त्री डा युवराज खतिवडा

1
1.1K Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउन खुकुलो पार्दा भन्सार महसुल र आन्तरिक राजस्व संकलनको गति बढेकोले आगामी आर्थिक बर्षमा ७ प्रतिशत बृद्धि सहज हुने बताए ।
सोमवार नेपाल उद्योग परिसंघको १७ औं वार्षिक साधारण सभामा बोल्दै उनले अर्थतन्त्रले लय समात्दा राज्य कोषलाई समेत सहज भएकोले आर्थिक बृद्धिदर बढने बताएका हुन् ।


‘हामीले लकडाउन खुकुलो बनाएपछि आर्थिक गतिविधिमा वृद्धि भएको छ,’ उनले भने,‘यदि साउनबाट आवत–जावतमा थप सहज बनाए आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि सहज हुनेछ ।’


असार १ गतेदेखि बन्दाबन्दी खुकुलो पार्दा आर्थिक अवस्था पुरानै लयमा फर्किएको उनले बताए । अर्थतन्त्रले ८० प्रतिशत लय समातेको दावी खतिवडाको दाबी छ ।
बजेटको कार्यान्वयन, व्यावसायिक वातावरण, आवागमन खुकुलो गरिँदै जाँदाको अवस्थामा अर्थतन्त्र पुरानै गतिमा फर्कने र घटीमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल हुने विश्वास व्यक्त गरे । बाह्य लगानीका लगानीको वातावरण बन्दै गएको र थप लगानी ल्याउनका लागि उनले निजी क्षेत्रलाई व्यावसायिक दूतका रूपमा काम गर्नसमेत आग्रह गरे ।

पर्यटन क्षेत्रको अवस्थामा केही समस्याग्रस्त भए पनि वस्तुको बजार हेरेर लगानीका लागि सरकारले पहल गर्ने, लगानीका क्षेत्र विस्तार गर्ने गरी सम्बन्धित मन्त्रालयले काम गरिरहेको तथा कुनकुन वस्तुलाई प्रोत्साहनमा राख्न सकिन्छ भनेर आवश्यक पहलसमेत भइरहेको उनको भनाइ छ ।

सरकारले विद्युतको विषयमा समेत आवश्यक निर्णय गरिसकेको र नेपाल विद्युत् प्राधिकरणको राजस्वमा रु १२ अर्ब बराबरको नोक्सानी हुने भएपनि राहत प्रदान गरिएको तथा विभिन्न शीर्षकमा गरेर झण्डै ७० अर्ब बराबरको सहुलियत दिइएको उनको भनाइ छ ।

उनले सकारात्मक श्रम सम्बन्धको विकास भएको, थप सहजीकरणका लागि सरकार प्रयासरत रहेको र तथा औद्योगिक सम्बन्ध सुमधुर बनाउनसमेत आवश्यक प्रयत्न भएको जानकारी दिए ।
अन्तर्राष्ट्रिय व्यापारसमेत सामान्य अवस्थामा फर्कदै गएको र यही असार १ गतेपछि लकडाउन खुकुलो बन्दै जाँदा आर्थिक क्रियाकलापमा समेत बढोत्तरी भएको उल्लेख गरे ।

विदेशको श्रम बजारसमेत क्रमशः सकारात्मक बन्ने, विप्रेषण आयातको अवस्थामा सुधार भएको र कोरोनाका कारण समस्यामा परेका फर्कन खोजेका नेपालीको समेत श्रम गन्तव्यमा नै रहने अवस्था देखिन थालेको अर्थमन्त्रीको भनाइ छ ।

1

Scroll to Top