सरकारले उद्यमशीलताको विकासका लागि भन्दै केही समयअघि स्टार्टअपलाई ५० लाखसम्म रकम अनुदान दिने भन्दै सूचना निकाल्यो । कोरोनाको महामारीका विचमा थुप्रै उद्यमशीलहरुले फर्म भर्ने काम समेत गरे । तर, नाटकिय रुपमा राष्ट्रिय योजना आयोगले स्टार्टअपलाई अनुदान नभई २ प्रतिशत ऋणमा रकम उपलब्ध गराउने भन्दै नयाँ सूचना निकाल्यो । एक महिना पछि फेरी अर्को सूचना निकाल्दै यो अवधि असोज सम्मको लागि समय सार्यो ।
अर्थ मन्त्रालय, उद्योग मन्त्रालय र योजना आयोगको सहकार्यमा स्टार्टअपलाई ऋण दिने कार्यविधि अघि बढिसकेको योजना आयोगका सदस्य डा. रामकुमार फुयालले जानकारी दिए । डिजिटल संवाद कार्यक्रममा बोल्दै फुयालले गत आर्थिक वर्षमा ७६९ प्रस्तावहरू प्राप्त भएको र यसमा छनौट गरी ऋण दिने प्रक्रिया अघि बढीरहेको बताए ।
यसैगरी उनले अबको यस आर्थिक वर्षका लागि पनि प्रस्ताव आह्वान गरेर धेरैलाई यस क्षेत्रमा सहजीकरण गर्ने बताए । सरकारले तत्काल ५० करोड स्टार्टअपलाई लगानी गर्ने र ५ अर्बको कोष बनाएर निरन्तर सहयोग गर्नेगरी कार्य योजनाहरू ल्याइरहेको जनाएको छ ।


