काठमाडौँ– काठमाडौँ उपत्यकामा भदौ ३ गते रातिदेखि भदौ १० गते रातिसम्म निषेधाज्ञा हुने भएको छ । दैनिक रूपमा कोरोना संक्रमण संख्या बढ्दै गएपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र चारवटै सुरक्षा निकायका जिल्ला प्रमुख उपस्थित बैठकले १० भदौसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो । निषेधाज्ञामा यातायात, अत्यावश्यक सेवाबाहेक अन्य व्यवसाय पूर्णरूपमा बन्द हुने छन् ।
काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्दै गएकाले निषेधाज्ञा गर्न विभिन्न क्षेत्रबाट दबाब परेको थियो । काठमाडौँ उपत्यकामा मंगलबार २०५ जनामा संक्रमण देखिएको थियो भने सोमबार १७२ जनामा संक्रमण देखिएको थियो ।
मन्त्रिपरिषदको सोमबारको बैठकले जिल्ला प्रशासन र स्थानीय प्रशासनलाई निषेधाज्ञालगायतका आवश्यक कामकाज जिम्मेवारी दिएको थियो । बैठकले संक्रमण रोग ऐन, २०२० बमोजिम कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिएको थियो ।


