जिल्ला प्रशासन कार्यालय ललितपुरले बुंगद्य: (रातो मच्छिन्द्रनाथ) र मीननाथको रथ रोकिएको स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ।
रातो मच्छिन्द्रनाथको रथ तान्ने नाममा झडप हुनसक्ने खतरालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले ललितपुर महानगरपालिका क्षेत्रभित्र ५ जना भन्दा बढी मानिस भेला हुन् पाउने गरी आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले शुक्रबार एक आदेश जारी गर्दै बिहन ५ बजेदेखि बेलुका १० बजेसम्म भेला हुन रोक लगाइएको बताएका छन् । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आदेश जारी गरिएको छ। बिहीबार मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि शुक्रबार कर्फ्यू ओदश भएको थियो ।
नयाँ नियमअनुसार शनिबारदेखि २६ गतेसम्म प्रशासनले रातो मछिन्द्रनाथको रथ रहेको आसपास क्षेत्र -पूर्वमा मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिममा ललितपुर महानगरपालिकाको कार्यालय, दक्षिणमा सेन्ट जेभियर्स अगाडिको चोक र उत्तरमा बखुण्डोल चोकमा हुलदंगा वा अशान्ति गर्ने उद्धेश्यले एकै ठाउँ ५ जनाभन्दा बढी मानिस भेला हुन रोक लगाइएको हो। यस्तै, मीननाथको रथ रहेको क्षेत्र -पूर्वमा मंगलबजार चोक,पश्चिममा मदन स्मारक स्कुल, दक्षिणमा पूर्णचण्डी मन्दिर र उत्तरमा पिम वहालमा समेत भेला हुन रोक लगाएको छ। यस्तै मीन नाथको रथ रहेको आसपास क्षेत्रमा पनि सोही नियम लागू गरिएको छ ।