देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक सरेको छ, जसले गर्दा मधेश प्रदेशमा भारी वर्षा भइरहेको छ । यस वर्षाले लामो समयदेखि खडेरीको मार खेपिरहेका किसानहरूलाई ठूलो राहत मिलेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार सोमबार बिहान मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । अन्य प्रदेशका तराईका भूभागमा पानी परिरहेको छ ।
शनिबार र आइतबारको वर्षापछि मधेश प्रदेशका किसानहरू धान रोपाइँमा सक्रिय भएका छन् । यसअघि खडेरीका कारण रोपाइँमा ढिलाइ भएको थियो, तर अहिले पर्याप्त पानी परेपछि उनीहरू हलो, ट्याक्टर र कोदालो लिएर खेतमा जुटेका छन् ।
मधेश प्रदेशमा कुल ३ लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफल जग्गामा धान खेती हुने गरेको छ । अहिलेसम्म ५७.२७% अर्थात् २ लाख १३ हजार ३४८.९५ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सम्पन्न भएको छ ।
रोपाइँ हुन बाँकी ४२.७३% जग्गामा यस वर्षाले रोपाइँ सम्भव बनाउने अपेक्षा गरिएको छ, यद्यपि पूर्ण रोपाइँ सम्भव नभए पनि ठूलो हदसम्म रोपाइँ हुने कृषि विज्ञहरूको भनाइ छ । पानिपरेसँगै पर्सा (८५%), बारा (८३%), रौतहट (७३%), र सर्लाही (६५%) मा उच्च रोपाइँ भएका छन् । महोत्तरी (३९.७३%), सप्तरी (४०%), धनुषा (४०%) र सिराहा (५०%) जिल्लामा भने कम रोपाइँ भएका छन् । यि जिल्लामा पनि आइतवार पछि पनि पानी पर्ने उच्च चापिय बायुले संकेक गरेको छ ।
पछिल्लो २४ घण्टामा मधेशका विभिन्न क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । सिराहा हाइड्रो केन्द्रमा १०१.६ मिलिमिटर वर्षा मापन गरिएको छ, जसलाई “धेरै भारी वर्षा“ मानिन्छ । अन्य केन्द्रहरूमा पनि ७७.२ मिलिमिटर (लहान), ९३ मिलिमिटर (बरमझिया), र ५८ मिलिमिटर (गौशाला) लगायतका वर्षा मापन गरिएको छ । वर्षाले धान रोपाइँका लागि आवश्यक सिँचाइको अवस्था सुधारेको छ । यसले जमिनमुनिको पानीको सतह बढाउन र खानेपानीको समस्या कम गर्न पनि सहयोग पु¥याएको छ ।


