नेपालको आर्थिक अवस्थामा सकारात्मक संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार देशको बाह्य सम्पत्तिमा वृद्धि भएको छ भने शोधनान्तर स्थिति र चालु खाता लगातार बचतमा रहेका छन् । यद्यपि, सरकारको ऋण दायित्व भने उच्च नै रहेको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार, आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारको कुल ऋण २६ खर्ब ६९ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । यसमध्ये बाह्य ऋण १४ खर्ब १ अर्ब ४२ करोड र आन्तरिक ऋण १२ खर्ब ६८ अर्ब २२ करोड रहेको छ । चालु आर्थिक वर्षमा सरकारले ३२९ अर्ब ९९ करोड रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको छ भने २४३ अर्ब ९१ करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ ।
यस वर्ष मुलुकको वैदेशिक सम्पत्ति २९ खर्ब २९ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ, जबकि दायित्व २१ खर्ब ४६ अर्ब ४३ करोड रुपैयाँ मात्र छ । यसले गर्दा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ७ खर्ब ३ अर्ब २६ करोड रुपैयाँले बचतमा रहेको छ । यो गत वर्षको ३ खर्ब ५ अर्ब ८४ करोड रुपैयाँको बचतभन्दा दोब्बरभन्दा बढी हो ।
नेपालको शोधनान्तर (भुक्तानी सन्तुलन) स्थिति लगातार तेस्रो वर्ष पनि उच्च बचतमा रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा पनि बढी हो । यसैगरी, चालु खाता पनि लगातार दोस्रो वर्ष ४ खर्ब ९ अर्ब २० करोडले बचतमा रहेको छ । यी सकारात्मक सूचकहरूले आयात नियन्त्रण र विदेशी मुद्रा आर्जनमा भएको सुधारलाई स्पष्ट पारेका छन् ।
गत आर्थिक वर्षमा खुद पुँजीगत ट्रान्सफर ९ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ भने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) पनि बढेर १२ अर्ब २ करोड रुपैयाँ भित्रिएको छ । यसले समग्र आर्थिक स्थायित्व र लगानीको वातावरणमा सुधार आएको देखाउँछ ।


