सुनसरी-मोरङ औद्योगिक करिडोर अन्तर्गत मोरङको कटहरी-४, जामुनगाछीमा रहेका दुई ठूला उद्योगको उत्पादन विगत एक सातादेखि ठप्प भएको छ। उद्योगको आसपासका बस्तीभन्दा बाहिरका केही व्यक्तिले प्रदूषणको आरोप लगाउँदै अवरोध गरेपछि ग्रिन टायर उद्योग र ग्लोवल बायो इनर्जी उद्योगको उत्पादन प्रभावित भएको हो।
दशकदेखि सञ्चालनमा रहेका यी दुवै उद्योगले प्रदूषण गरेको भन्दै केही व्यक्तिले बारम्बार अवरोध पुर्याएको उद्योगीहरूले गुनासो गरेका छन्। ग्रिन टायर उद्योगले मोटरसाइकल, बस, ट्र्याक्टरलगायतका सवारी साधनका लागि टायर उत्पादन गर्छ भने ग्लोवल बायो इनर्जीले इन्डस्ट्रियल फर्नेस आयल उत्पादन गर्छ।
उद्योगका सञ्चालक वितिन सिंघानीयाका अनुसार दुवै उद्योग अत्याधुनिक प्रविधि (अटोमेटिक प्लान्ट) बाट सञ्चालित छन् र प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (IEE) परीक्षणमा पनि सफल भएका छन्। उहाँले भन्नुभयो, ‘उद्योग नजिकैका बासिन्दाबाट कुनै गुनासो आएको छैन, तर टाढाका केही व्यक्तिले अवरोध गर्दा उत्पादनमा समस्या आएको छ।’
उद्योग स्थापना हुँदा आठ बिघाभन्दा बढी क्षेत्रफलमा बस्ती थिएन। पछि उद्योगको वरपर बस्ती बस्न थाल्यो र अधिकांश स्थानीयले उद्योगमा रोजगारी पनि पाएका छन्। यस अवस्थामा बाहिरका व्यक्तिले अवरोध गर्नुलाई उद्योग व्यवस्थापनले आश्चर्यजनक मानेको छ।
कटहरी गाउँपालिकाका प्रमुख देवराज चौधरीका अनुसार IEE रिपोर्ट मापदण्डअनुसार नै देखिएको छ। उहाँले एक कर्मचारीलाई सामान चोरीको आरोपमा उद्योगबाट निकालिएको र सोही व्यक्तिले बाहिरका मानिसलाई उचालेर अवरोध गरेको पाइएको बताउनुभयो। गाउँपालिकाले आगामी आइतबार दुवै पक्षलाई राखेर समस्याको समाधान गर्ने तयारी गरेको छ।
करिब ५६ करोड लगानीमा स्थापना भएको ग्रिन टायर उद्योग र ८ करोडको लागतमा बनेको ग्लोवल बायो इनर्जी उद्योगले कुल १८० जना स्थानीयलाई प्रत्यक्ष रोजगारी दिएका छन्। यसअघि ग्लोवल बायो इनर्जीलाई आन्तरिक राजस्व कार्यालय, मोरङले सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) तिर्ने उद्योगका रूपमा सम्मान गरिसकेको छ।


