पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएकी छन् । जेनजीको आन्दोलनका क्रममा केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाइएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए । तर, युवा (जेन–जी) आन्दोलनका बलमा प्रधानमन्त्री बनेकी कार्कीले संविधानको धारा–६१ अनुसारको नियुक्तिपत्र पाएकी हुन् ।
नेपालको संविधानको धारा–६१ मा राष्ट्रपति सम्बन्धी व्यवस्था छ, जसमा प्रधानमन्त्रीको पद, अधिकार र नियुक्तिको कुनै प्रसंग उल्लेख छैन । संविधानको धारा ६१ (१ र २)मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ ।
राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्नेछ अनि संविधानको पालन र संरक्षण गर्ने व्यवस्था पनि सोही धारामा छ । राष्ट्रपतिले आफ्नो काम, कर्तव्य र क्षेत्राधिकारको विषय उल्लेख भएको धारा अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक किरण पोखरेलका अनुसार कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी भइरहेको छ । सुशीला कार्कीको मन्त्रिपरिषदमा अधिवक्ता ओेमप्रकाश अर्याल कानूनमन्त्री बन्ने लगभग निश्चित देखिएको छ । उनी काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साहका सल्लाहकार हुन् । उनलाई बालेनकै सिफारिसमा कानून मन्त्री बनाइन लागेको स्रोतले दाबी गरेको छ ।
अर्याल पछिल्लो पटक प्रधानसेनापति र राष्ट्रपतिसँगको वार्तामा समेत संलग्न थिए । यस्तै विद्युत प्राधिकरणका पुर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र जेनजी प्रतिनिधि सुधन गुरूङको नाम पनि भावि मन्त्रीको रूपमा चर्चामा छ । तर कार्कीले हालसम्म सहमति जनाइ नसकेको बुझिएको छ । यसैले सपथ गने समय भएपनी ढिलो भएको बुझिएको छ ।


