Banijya News

सरकारी संरचनाको ठूलो क्षतिः बिमा नहुँदा राज्यलाई खर्बौको आर्थिक भार

1
1.3K Shares

२०७२ सालको भूकम्पबाट क्षति पुगेका कतिपय संरचनाहरू पुनर्निर्माण भइनसक्दै देशव्यापी रूपमा भएको जेनरेशन जी प्रदर्शनले फेरि ठूलो क्षति पु¥याएको छ । यस आन्दोलनका क्रममा सरकारी तथा निजी संरचना, सवारीसाधन र अन्य सम्पत्तिमा खर्बौको रुपैयाँको क्षति भएको छ । यसबाट सबैभन्दा ठूलो चिन्ताको विषय सरकारी संरचनाको बिमा नहुनु हो, जसका कारण पुनर्निर्माणको सम्पूर्ण भार राज्यमाथि परेको छ ।

जेन जी आन्दोलनका क्रममा देशव्यापी रूपमा भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिको क्षतिले बिमा क्षेत्रमा ठुलो दबाब पर्ने देखिएको छ । सोमबार र मङ्गलबार सङ्घीय राजधानी काठमाडौँलगायत देशका मुख्य सहरमा भएको आन्दोलनसँगै भएको तोडफोड, आगजनी र लुटपाटका कारण निजी, व्यावसायिक तथा सार्वजनिक सम्पत्तिमा क्षति हुँदा अहिलेसम्मकै सर्वाधिक बिमा दाबी पर्ने प्रक्षेपण गरिएको छ ।


तथापि सरकारी र सार्वजनिक सम्पत्तिको भने बिमा नभएको पाइएको छ । जसका कारण राज्यलाई निकै ठुलो आर्थिक भार पर्ने देखिएको छ । सिंहदरबार, प्रधानमन्त्री निवास र कार्यालय, राष्ट्रपति भवन, संसद् भवन, मन्त्री निवास, विभिन्न स्थानका प्रहरी कार्यालय, विभिन्न विभाग, प्रदेश सरकार अन्तर्गतका कार्यालय, नगरपालिका, वडा कार्यालयलगायतका सरकारी संरचना बिमाको दायराभित्र नभएकै कारण बिमा दाबीबाट वञ्चित हुने हुँदा राज्यलाई प्रत्यक्ष आर्थिक भार थपिएको छ ।


अधिकांश निजी भवन तथा व्यापारिक संरचनाको बिमा गरिएको हुँदा उनीहरूले क्षतिपूर्ति दाबी गर्न पाउँछन् र आर्थिक राहत प्राप्त गर्छन् । तर, पूर्वअर्थ सचिव रामेश्वर खनाल र नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीका अनुसार अधिकांश सरकारी संरचनाको बिमा गरिएको छैन। सर्वोच्च अदालत, सिंहदरबार, प्रधानमन्त्री निवास, संसद् भवन लगायतका प्रमुख सरकारी भवनहरू पनि बिमाको दायरामा नभएको बिमा विज्ञहरू बताउँछन्। यसले गर्दा आन्दोलनकारीले क्षति पु¥याएको अवस्थामा पुनर्निर्माणका लागि सरकारले आफ्नै स्रोत खर्चिनुपर्ने बाध्यता सिर्जना भएको छ। यसैले गर्दा राज्यलाई निकै ठूलो आर्थिक भार थपिएको छ।

निजी क्षेत्रमा ठूलो बिमा दाबीको अनुमान

प्रदर्शनका क्रममा भाटभटेनी, सिजी पार्क, होटेल हिल्टन, एनसेल, विभिन्न सुपरमार्केट, अटोमोबाइल्सका सोरुम, निजी आवास र सवारीसाधनमा पनि ठूलो क्षति भएको छ । बिमा कम्पनीहरूले यसपटक २०७२ सालको भूकम्पभन्दा पनि बढी बिमा दाबी पर्ने अनुमान गरेका छन् । भूकम्पका बेला १७ अर्ब ६५ करोड रुपैयाँ बराबरको बिमा दाबी परेको थियो । होटल संघ नेपाल (हान) को प्रारम्भिक अध्ययनले मात्रै २५ वटा होटलमा २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको देखाएको छ । यस प्रकारको क्षतिमा ’हुलदंगा बिमा’ अन्तर्गत क्षतिपूर्ति दिइन्छ । नेपाल पुनर्बिमा कम्पनीले पुल प्रणालीमार्फत हुलदंगा बिमा सञ्चालन गरिरहेको छ, जसले गर्दा ठूलो क्षति भएमा विदेशी पुनर्बिमा कम्पनीहरूको पनि दायित्व हुन्छ ।

विगतका अनुभवबाट पाठ नसिकिएको

२०६१ सालमा १२ जना नेपाली कामदारको इराकमा हत्या भएपछि नेपालमा पनि ठूलो प्रदर्शन भएको थियो, जसले सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति पुर्याएको थियो । त्यस घटनाले सम्पत्ति बिमा र हुलदंगा बिमाको महत्वलाई बहसको विषय बनाएको थियो । त्यसपछि २०७२ सालको भूकम्प र हालको प्रदर्शनले पनि यही समस्या दोहोर्याएको छ । विज्ञहरूका अनुसार सरकारी संरचनाको बिमा नहुनुले सरकारले विगतका घटनाबाट पाठ नसिकेको स्पष्ट देखाएको छ । नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूलाई यथाशीघ्र क्षतिको मूल्याङ्कन गरी बिमा दाबी भुक्तानी गर्न निर्देशन दिएको छ । यद्यपि, निषेधाज्ञा र कफ्र्यूका कारण यस कार्यमा ढिलाइ भएको छ ।

1

Scroll to Top