Banijya News

नयाँ अर्थमन्त्रीको खोजीमा प्रधानमन्त्री कार्की, को को छन् दौडमा ?

1
1.2K Shares

देशमा जेनजी आन्दोलनपछि सत्ता परिवर्तन भएसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको नयाँ सरकारले अर्थतन्त्रलाई सम्हाल्न सक्षम अर्थमन्त्रीको खोजी सुरु गरेको छ। प्रधानमन्त्री कार्कीले मन्त्रिमण्डल विस्तारको तयारी तीव्र पारेकी छन् भने सबैभन्दा संवेदनशील मानिने अर्थ मन्त्रालय कसलाई दिने भन्नेबारे व्यापक छलफल चलिरहेको छ।

आइतबार कार्कीले सिंहदरबारस्थित नवनिर्मित एक भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्थापना गरी पदभार ग्रहण गरेकी छन् । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय आगजनी गरेपछि नयाँ ठाउँमा कार्कीको कार्यालय बनिसकेको छ। तर, तेस्रो दिनसम्म आइपुग्दा मन्त्रिमण्डल विस्तार भएको छैन ।

सुरुमा कार्कीको अन्तरिम मन्त्रिपरिषदमा केही मन्त्रीलाई पनि सपथ दिलाउने तयारी भएको थियो । कार्की मन्त्रिपरिषदमा जेनजी समूहका केही व्यक्ति, राष्ट्रपतिका केही, सेनाका केही व्यक्ति, प्रदर्शनलाई सामाजिक सञ्जालमार्फत साथ दिएका काठमाडौं महानगरपालिका मेयर बालेन शाहका केही व्यक्ति, वार्तामा भूमिका निर्वाह गरेका अधिवक्ता ओमप्रकाश अर्याल, हामी नेपालका अध्यक्ष सुधन गुरुङ मन्त्री बन्ने चर्चा थियो । साथै, कुलमान घिसिङ, सन्दुक रुइतलगायत केही गैरराजनीतिक व्यक्तिलाई मन्त्री बनाउने तयारी थियो ।

जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक मात्र होइन, आर्थिक अवस्था पनि अस्थिर बनेको छ। बैंकिङ प्रणालीमा तरलता प्रशस्त भए पनि लगानी ठप्प छ। रोजगारी सिर्जना हुन नसक्दा लाखौं युवा विदेशिन बाध्य भएका छन्। यतिबेला आर्थिक सूचकहरू कमजोर छन्, व्यवसायीको मनोबल गिरिसकेको छ र जनताको भरोसा संकटमा परेको छ।

यी हुन अर्थमन्त्रीको दौडमा रहेका चर्चीत नामहरू !

१. महेश आचार्य

पूर्वअर्थमन्त्री महेश आचार्य आर्थिक उदारीकरणका प्रणेता मानिन्छन्। उनी इमानदार, अनुभवी र निजी क्षेत्रमैत्री नीति निर्माणका पक्षधर हुन्। विगतमा उनले ल्याएको बजेटलाई नेपालमा आर्थिक सुधारको सुरुवातका रूपमा लिइन्छ। प्रजातन्त्रपछिको सबैभन्दा सफल बजेट उनीकै कार्यकालमा आएको मानिन्छ।

२. रामेश्वर खनाल

पूर्वअर्थसचिव खनाल आर्थिक अनुशासन, पारदर्शिता र नीतिगत सुधारका पक्षमा दृढ अडान राख्ने व्यक्तिका रूपमा परिचित छन्। खुला बजार अर्थतन्त्रका ज्ञाता खनाललाई स्वच्छ छवि र व्यावसायिक दक्षताको प्रतीक मानिन्छ। उनको अनुभव र क्षमता अहिलेको संवेदनशील अवस्थामा अत्यन्त उपयोगी ठहरिएको छ।

३. डा. समीर खतिवडा

एशियाली विकास बैंकमा कार्यरत अर्थशास्त्री खतिवडा नयाँ पुस्ताका विज्ञ हुन्। उनले हार्वर्ड विश्वविद्यालय र जेनेभा ग्र्याजुएट इन्स्टिच्युटबाट उच्च शिक्षा लिएका छन्। सार्वजनिक वित्त, रोजगारी नीति र नवप्रवर्तनमा विशेष रुचि राख्ने खतिवडा युवा, प्राविधिक र अन्तर्राष्ट्रिय अनुभव बोकेको व्यक्तिका रूपमा अगाडि छन्।

४. डा. स्वर्णिम वाग्ले

पूर्वराष्ट्रिय योजना आयोग उपाध्यक्ष तथा हाल राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष वाग्ले पनि अर्थमन्त्रीको सम्भावित उम्मेदवारको रूपमा चर्चा छन्। उनीसँग विकास अर्थशास्त्रमा अन्तर्राष्ट्रिय अनुभव, व्यापक नीतिगत ज्ञान र सार्वजनिक क्षेत्रको राम्रो बुझाइ छ। राजनीतिक रूपमा स्वतन्त्रता लिने तयारीमा देखिएका वाग्लेलाई अर्थतन्त्रको नेतृत्व दिने विषयमा प्रधानमन्त्री कार्की सकारात्मक देखिएकी छन्।

अन्य सम्भावित नामहरू

अर्थतन्त्र नजिकबाट नियाल्ने केशव आचार्य, विश्वम्भर प्याकुर्याल, विज्ञानबाबु रेग्मी, निशान्त खनाल, नरेन्द्र पनेरु, कपिल पोखरेल जस्ता युवा तथा वरिष्ठ अर्थशास्त्रीहरूको नाम पनि सामाजिक सञ्जाल र नीतिनिर्माण सर्कलमा चर्चामा छन्। जेनजी आन्दोलनले नयाँ पुस्तालाई अवसर दिनुपर्ने माग उठाइरहेको सन्दर्भमा केही युवा अर्थशास्त्रीलाई अवसर दिने बहस पनि चलिरहेको छ।

1

Scroll to Top