जेन जेड आन्दोलनका क्रममा भदौ २४ गते देशव्यापी रूपमा भएको तोडफोड र आगजनीबाट भाटभटेनी सुपरस्टोरलाई १० अर्ब ८५ करोडभन्दा बढीको क्षति भएको छ। भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर क्षतिको विस्तृत विवरण बुझाएका हुन् ।
बालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा स्टोरमा पूर्ण क्षति पुगेको छ। यी १२ वटा स्टोरमा भवन र भित्रका सम्पूर्ण सामानहरू जलेर नष्ट भएका छन्। यसमा एस्केलेटर, लिफ्ट र फ्रिजजस्ता महँगा सामानहरू पनि समावेश छन् । यसरी पूर्ण रूपमा जलेर नष्ट भएका सामान र भवनको कुल क्षति ५ अर्ब ९६ करोड ३ लाख ६७ हजार ५९६ रुपैयाँ रहेको भाटभटेनीले जानकारी दिएको छ।
यसैगरी, देशभरका ९ वटा स्टोरमा तोडफोड र लुटपाट भएको छ। यी स्टोरहरूमा आंशिक क्षति पुगेको छ, जसको कुल क्षति ४९ करोड ५७ लाख ७६ हजार ६५५ रुपैयाँ रहेको छ। आंशिक र पूर्ण क्षति पुगेका १९ वटा स्टोरको कुल क्षति ४ अर्ब ४० करोड ६ लाख ५४ हजार ६०३ रुपैयाँ अनुमान गरिएको छ।
यस आन्दोलनले भाटभटेनीका २० वटा स्टोरमा क्षति पुगेको छ। कुल क्षति १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँ रहेको छ। गुरुङले प्रधानमन्त्रीसँगको भेटमा राज्यलाई सहयोग गर्न सधैँ तत्पर रहेको बताउँदै भाटभटेनीलाई नै निशाना बनाइएकोमा दु:ख व्यक्त गरे। यद्यपि, उनले भाटभटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीलाई कामबाट ननिकाल्ने र दसैँ बोनस पनि पूरा दिने प्रतिबद्धता जनाएका छन् ।


