सरकारले १० लाख रुपैयाँभन्दा बढी लागतका आयोजनाहरू अब उपभोक्ता समितिबाट गर्न नपाउने निर्णय गरेको छ। संघीय सरकारबाट वित्तीय हस्तान्तरण भएका प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने यस्ता सबै आयोजनाहरू अब ठेक्का प्रक्रिया मार्फत मात्रै सञ्चालन गर्नुपर्ने भएको छ।
अर्थ मन्त्रालयले जारी गरेको १५ बुँदे निर्देशनमा यो कुरा स्पष्ट पारिएको छ। आयोजनाहरूलाई टुक्राएर साना-साना बनाइ उपभोक्ता समितिबाट काम नगराउन पनि मन्त्रालयले निर्देशन दिएको छ। यसबाट विगतमा राजनीतिक प्रभाव वा स्थानीय दबाबका कारण टुक्रिएका साना आयोजनाहरूमा रोक लाग्नेछ।
सरकारले तयारी बिनाका, कम प्राथमिकतामा परेका र दोहोरो प्रविष्टि भएका आयोजनाहरूलाई पनि रोक्का गर्न निर्देशन दिएको छ। यद्यपि, स्रोत सहमति प्राप्त भई निर्माणाधीन रहेका आयोजनाहरूलाई भने बजेट अभाव हुन नदिइ निरन्तरता दिइने भएको छ।
यस आर्थिक वर्षमा नयाँ आयोजनाका लागि बहुवर्षीय स्रोत सहमति नदिने निर्णय पनि गरिएको छ। साथै, निर्माण कार्यमा लाग्ने कन्टिन्जेन्सी रकमको सीमा पनि घटाइएको छ। अब एक अर्ब रुपैयाँसम्म लागत अनुमान भएका आयोजनामा ३ प्रतिशत र सोभन्दा बढी लागतका आयोजनामा २ प्रतिशत मात्रै कन्टिन्जेन्सी रकम छुट्याइनेछ।
शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता आधारभूत आवश्यकताका क्षेत्रहरूमा भने बजेट कटौती नहुने मन्त्रालयले जनाएको छ। मन्त्रिपरिषद्को असोज ५ गतेको बैठकले गरेको यो निर्णयलाई कार्यान्वयनका लागि सबै मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहलाई पत्राचार गरिसकिएको छ।


