Banijya News

क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि उच्चस्तरीय समिति, कसरी गर्छ काम ?

1
1.1K Shares

सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण क्षतिग्रस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माण र मर्मतसम्भारका लागि ‘भौतिक पूर्वाधार पुनर्निर्माण समिति’ गठन गरेको छ। अर्थमन्त्रीको अध्यक्षतामा रहने यो ५ सदस्यीय समितिले क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतका कामलाई व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।

अर्थ मन्त्रालयले जारी गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण समिति गठन आदेश २०८२’ अनुसार, समितिका सदस्यहरूमा गृहमन्त्री, सहरी विकासमन्त्री र मुख्य सचिव रहेका छन्। सहरी विकास मन्त्रालयका सचिवलाई भने सदस्य–सचिवको जिम्मेवारी दिइएको छ । यो उच्चस्तरीय संरचनाले पुनर्निर्माणका निर्णयहरूलाई छिटो र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ ।

समितिको मुख्य जिम्मेवारीमा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि कार्ययोजना निर्माण गर्ने, आवश्यक आर्थिक स्रोतको व्यवस्थापन गर्ने, र कार्यक्रमहरूको नियमित अनुगमन तथा सुपरिवेक्षण गर्ने कार्य रहेका छन् । यसका लागि एउटा छुट्टै ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना गरिनेछ । यो कोषमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, स्वदेशी वा विदेशी व्यक्ति तथा संस्था, गैरआवासीय नेपाली र विभिन्न व्यावसायिक प्रतिष्ठानहरूबाट प्राप्त रकम जम्मा गरिनेछ ।

कोषमा जम्मा भएको रकम नेपाल राष्ट्र बैंक वा ’क’ वर्गको इजाजत प्राप्त बैंकमा छुट्टै खाता खोली जम्मा गरिनेछ । यो रकम क्षतिग्रस्त सार्वजनिक वा सरकारी संरचनाको पुनर्निर्माण, फर्निचर तथा उपकरण खरिद र आर्थिक पुनरुत्थान कार्यक्रम सञ्चालन गर्न प्रयोग गरिनेछ ।

समितिले स्वीकृत गरेपछि मात्र कोषको रकम खर्च गर्न पाइनेछ । कार्यक्रमहरूलाई अत्यावश्यकता र लागत प्रभावी हुने आधारमा प्राथमिकता दिइनेछ । साथै, सार्वजनिक पारदर्शिता कायम गर्न समितिको आम्दानी र खर्चको लेखा र प्रतिवेदन सार्वजनिक गरिनेछ । कोषको आन्तरिक लेखापरीक्षण कोष तथा लेखा नियन्त्रक कार्यालयले गर्नेछ भने अन्तिम लेखापरीक्षण महालेखा परीक्षकको कार्यालयले गर्नेछ ।

समितिको कार्यावधि गठन आदेश प्रारम्भ भएको मितिबाट एक वर्षको हुनेछ, तर आवश्यकताअनुसार ६ महिनासम्म थप गर्न सकिनेछ । समितिले आफ्नो कामको प्रगति प्रतिवेदन त्रैमासिक रूपमा नेपाल सरकारलाई बुझाउनुपर्नेछ । यसका साथै समितिले गैरसरकारी संस्था, निजी क्षेत्र वा समुदायलाई समेत परिचालन गर्ने अधिकार पाएको छ ।

1

Scroll to Top