पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यले अस्वभाविक रुपमा बढीरहेको छ । दशैँ पछिका हरेक दिनमा सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ ।
दशैँ पछिको पहिलो कारोबारका दिन असोज १९ गतेदेखि असोज २२ गतेसम्म आउँदा सुनको मूल्यले दिन दिनै नयाँ कीर्तिमान कायम गरिरहेको छ । दशैँ पछिको कारोबार भएको ४ दिनमा सुनको मूल्य १४ हजार ८०० रुपैयाँले वृद्धि भएको छ ।
दशैँ अघिको अन्तिम कारोबार दिन असोज १२ गते सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य तोलाको २ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।
पछिल्लो एक महिनाको अन्तरमा सुनको मूल्यमा २७ हजार ६०० रुपैयाँको वृद्धि भएको छ । भदौ २२ गते सुनको मूल्य २ लाख १० हजार ४०० रुपैयाँ थियो । जुन आजको मूल्य भन्दा २७ हजार ६०० ले कम हो । दशैँ बिदापछिका कुनै पनि दिनमा सुनको मूल्य घटेर कारोबार भएको छैन । लगातार रुपमा रेकर्डमाथि रेकर्ड कायम गरिरहेको छ । त्यस्तै चालु आर्थिक वर्ष सुरुभएदेखि हालसम्मको अवधिमा सुनको मूल्यमा ४५ हजार ७०० रुपैयाँले वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो दिन सुनको मूल्य तोलामा १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्यमा जुन रुपमा वृद्धि भइरहेको छ । यो गति कायम रहेको अवस्थामा सुनको मूल्यले छिट्टै तीन लाख पुग्ने व्यवसायीहरुको भनाइ छ ।
कहाँ पाइन्छ सस्तो सुन ?
सुनको मूल्य अन्तर्राष्ट्रिय विनिमयमा निर्धारण गरिन्छ । तर विश्वका हरेक देशमा मूल्य फरक-फरक हुन्छ । यसको कारण केवल अन्तर्राष्ट्रिय बजारको दर मात्र नभएर मुलुकको आन्तरिक कारणहरू पनि हुन् ।
बिजनेस वेबसाइट फोर्ब्सका अनुसार बहराइन, कुवेत, मलेसिया, ओमान, कतार, साउदी अरब, सिङ्गापुर, दुबई, अमेरिका र पेरुमा सुन तुलनात्मक रूपमा सस्तो पाइन्छ ।
यी मुलुकमा सस्तोमा सुन पाउनुको मुख्य कारण ती देशहरूमा सुनमा लाग्ने कर वा भन्सार शुल्क निकै न्यून हुनु हो । विशेषगरी दुबईलाई ‘ट्याक्स–फ्री गोल्ड हब’ को रूपमा परिचित छ ।
दुबईमा सुन खरिद गर्दा कुनै भन्सार शुल्क वा कर लाग्दैन । लागे पनि अत्यन्त न्यून लाग्छ । यहाँ सुनको मूल्य प्रायः अन्तर्राष्ट्रिय मूल्यसँग चल्ने भएकाले सस्तो पर्छ । साउदी अरबमा भौतिक रुपमा सुन खरिद गर्दा भ्याट लाग्दैन ।
तर नेपाल, भारतजस्ता देशहरूमा उच्च भन्सार शुल्क र करका कारण सुन महँगो पर्छ । यही कारण धेरै विदेश भ्रमणका क्रममा सस्तो दरमा सुन किन्ने गर्छन् ।


