Banijya News

अब सरकारको हरेक खर्च र बजेट विवरण अनलाइनबाटै हेर्न सकिने

1
1.2K Shares

अब सरकारको हरेक खर्च, बजेट, ऋण र नतिजा सम्बन्धी विवरण जनताले प्रत्यक्ष रूपमा अनलाइन प्रणालीमार्फत हेर्न सक्ने भएका छन्। अर्थ मन्त्रालयले ल्याएको पाँच वर्षे ‘तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८२–२०८७)’ लागू भएपछि सरकारी खर्च प्रणाली पूर्ण रूपमा डिजिटल र पारदर्शी बन्नेछ।

यो रणनीति अनुसार, बजेट निर्माणदेखि खर्च, ऋण व्यवस्थापन, लेखापरीक्षण र प्रतिवेदन तयार पार्नेसम्मका सम्पूर्ण प्रक्रिया एउटै डिजिटल प्लेटफर्ममा जोडिनेछ। हालसम्म सरकारले प्रयोग गर्दै आएका प्रणालीहरू — बजेटका लागि सिगास, स्थानीय तहका खर्चका लागि सुत्र, लेखा र खर्च व्यवस्थापनका लागि रिम्स, खरिदका लागि ई–जिपी, ऋण व्यवस्थापनका लागि डोम्स, र लेखापरीक्षणका लागि नाम्स — अलग–अलग रूपमा सञ्चालनमा छन्। यी सबैलाई एकीकृत गर्दै एउटै ‘एकीकृत सार्वजनिक वित्तीय व्यवस्थापन प्रणाली’ निर्माण गर्ने तयारी भएको हो।

रणनीतिमा भनिएको छ, “नागरिकको सहज पहुँच हुने गरी सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन एकीकृत सार्वजनिक वित्तीय व्यवस्थापन सूचना प्रविधि प्रणाली विकास गरिनेछ।” यसले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारका वित्तीय विवरणहरू एउटै डिजिटल ढाँचामा ल्याउनेछ।

अर्थ मन्त्रालयका सहसचिव महेश बरालका अनुसार, अब सरकारी सम्पत्ति, खर्च र लेखाजोखा कागजमा होइन, प्रणालीमै अभिलेखीकृत हुनेछन्।

तेस्रो रणनीतिले सरकारले सञ्चालन गर्दै आएको आंशिक अनलाइन प्रणालीलाई अब पूर्ण रूपमा डिजिटल पारदर्शी प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ। यसबाट नागरिकले राज्यको बजेट कहाँ र कसरी खर्च भइरहेको छ भन्ने विवरण सिधै हेर्न र बुझ्न सक्नेछन्। बजेट, राजस्व, ऋण र परियोजनाको स्थिति वास्तविक समयमा (रियल टाइम) अनुगमन गर्न सकिनेछ।

अहिले संघ, प्रदेश र स्थानीय तहबीच वित्तीय विवरण आदानप्रदानमा समय लाग्ने, सूचना दोहोरिने र नतिजा नमिल्ने समस्या रहेको बताइन्छ। नयाँ प्रणाली लागू भएपछि सबै तहका वित्तीय डेटा एउटै प्लेटफर्ममा उपलब्ध हुने भएकाले नीति निर्माण, बजेट योजना र खर्च अनुगमन सजिलो हुने अपेक्षा गरिएको छ।

अर्थ मन्त्रालयले यस रणनीतिलाई तथ्यमा आधारित निर्णय र नतिजामुखी बजेट प्रणालीको पूर्वाधारका रूपमा लिएको छ। यसका लागि मन्त्रालयमा स्थायी सुधार इकाइ स्थापना गरिने र अर्थ सचिवको नेतृत्वमा निर्देशक समिति तथा सहसचिवको नेतृत्वमा प्राविधिक समिति गठन गरिनेछ। ती समितिहरूमा प्रदेश र स्थानीय तहका प्रतिनिधि पनि रहनेछन्, जसले तीनै तहबीच समन्वय र सहकार्य सुदृढ गर्नेछन्।

रणनीति कार्यान्वयनका लागि विश्व बैंकको सहयोगमा ‘विकास प्रभावकारिता परियोजना’ सञ्चालनमा ल्याउने तयारी भएको अर्थ मन्त्रालयले जनाएको छ। यो परियोजनाले प्रमुख सुधार कार्यक्रमका लागि वित्तीय तथा प्राविधिक सहयोग पुर्‍याउनेछ भने बाँकी काम सरकारले आफ्नै स्रोतबाट अघि बढाउनेछ।

नेपालमा सार्वजनिक वित्तीय व्यवस्थापन सुधारको यात्रा सन् १९९० देखि सुरु भएको हो। सन् २००९ देखि २०१५ सम्म पहिलो सुधार रणनीति, र २०१६ देखि दोस्रो रणनीति लागू भएको थियो। ती रणनीतिबाट बजेट र लेखा प्रणाली सफ्टवेयरमा आधारित बनेका थिए भने खरिद प्रणालीमा पनि डिजिटल सुधार आएको थियो। तर अझै बजेटको विश्वसनीयता, पुँजीगत खर्चको गुणस्तर र सार्वजनिक सम्पत्ति व्यवस्थापनमा कमजोरी देखिँदै आएको मूल्याङ्कनले जनाएको थियो।

तेस्रो रणनीतिले ती कमजोरी सुधार्दै अब राज्यको वित्तीय अनुशासन र पारदर्शिताको नयाँ युग सुरु गर्ने लक्ष्य लिएको छ। यसको कार्यान्वयनपछि नागरिकले सरकारको हरेक खर्च, बाँकी बजेट, ढिलाइ भएका योजना र बढी खर्च भएका परियोजनासम्मको विवरण अनलाइनमार्फत हेर्न सक्नेछन्।

1

Scroll to Top