नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीका लगाउन उत्तम समय रहेको छ।
समितिका सदस्य प्रा. देवमणि भट्टराईले जानकारी दिए अनुसार, धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तको शुभ साइत दिइएको छ।
यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुनेछ। सो दिन यमदीप दान, धन त्रयोदशी र धनतेरस पर्व मनाइने छ। कात्तिक २ गते आइतबार काग तिहार र धनवन्तरी जयन्ती पर्व मनाइने समितिले जनाएको छ।
कात्तिक ३ गते सोमबार नरक स्नानसहित कुकुर तिहार, बेलुकी लक्ष्मीपूजा र दीपमालिका परम्परागत रूपमा सम्पन्न हुनेछन्। औँसी तिथि अनुसार स्नान र दान कात्तिक ४ गते मङ्गलबार बिहान गर्नुपर्ने जानकारी पनि समितिले दिएको छ।
नेवार समुदायले गर्ने गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ५ गते बुधबार सम्पन्न हुने छ। यस दिन नेपाल संवत् अनुसार नयाँ वर्ष पनि मनाइने छ र यसै दिनदेखि नेपाल संवत् ११४६ सुरु हुनेछ।
भाइटीका र नेवारी भाषामा भनिने किजापूजा कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा हुने छ। शास्त्रसम्मत् रूपमा दाजुभाइलाई ज्येष्ठको क्रमानुसार टीका लगाउनु पर्ने व्यवस्था रहेको समितिले जनाएको छ।
यमपञ्चक पर्वमा कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमदीप दान गर्ने परम्परा छ। यस क्रममा काग र कुकुरलाई यमदूतका रूपमा मिठा परिकार दिनु पर्छ, जसले यमलोकमा सहयोग गर्ने विश्वास गरिन्छ।


