गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार विस्तार हुँदै ६१ खर्ब रुपैयाँ नाघेको छ । यद्यपि, सरकारको विकास खर्च (पूँजीगत खर्च) भने लक्ष्यभन्दा निकै कम रही ६३ प्रतिशतमा सीमित भएको छ ।
अर्थ मन्त्रालयले आज (हालसालै) सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार देशको अर्थतन्त्र ६१ खर्ब सात अर्ब २२ करोड रुपैयाँ बराबर पुगेको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत कायम भएको प्रतिवेदनमा उल्लेख छ ।
चालु खर्चमा ११ खर्ब ४० अर्ब ६७ करोड रुपैयाँ विनियोजन भएकामा नौ खर्ब ५६ अर्ब ३६ करोड रुपैयाँ अर्थात् ८३ दशमलव ८४ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ विनियोजन भएकामा दुई खर्ब २३ अर्ब ९४ करोड रुपैयाँ अर्थात् ६३ दशमलव ५६ प्रतिशत खर्च भएको छ ।
वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ विनियोजन भएकोमातीन खर्ब ३२ अर्ब ६७ करोड रुपैयाँ अर्थात् ९० दशमलव ५८ प्रतिशत खर्च भएको प्रतिवेदनमा जनाइएको छ ।
गत आर्थिक वर्षमा कुल ११ खर्ब ९६ अर्ब १८ करोड ९८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । जसमध्ये कर राजस्व १० खर्ब ४९ अर्ब ८७ करोड ५४ लाख रुपैयाँ , गैरकर राजस्व एक खर्ब २८ अर्ब ९४ करोड ४८ लाख रुपैयाँ र अन्य प्राप्ति १७ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
बजेटमा लक्ष्य गरिएको राजस्व सङ्कलन लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँको तुलनामा ८४ दशमलव २८ प्रतिशत राजस्व सङ्कलन भएको हो । गत आर्थिक वर्षमा अनुदान २३ अर्ब ५३ करोड रुपैयाँ र ऋण एक खर्ब २५ अर्ब ४० करोड रुपैयाँ गरी कुल एक खर्ब ४८ अर्ब ९३ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त भएको छ ।
गत आवको कुल वैदेशिक सहायतामध्ये अनुदान १५ दशमलव ८० प्रतिशत र ऋण ८४ दशमलव २० प्रतिशत बराबर हो । घाटा बजेट परिपूर्तिका लागि गत आवमा सरकारले तीन खर्ब २९ अर्ब ९९ करोड रुपैयाँ आन्तरिक ऋण एक खर्ब २५ अर्ब ४० करोड रुपैयाँ बाह्य ऋण गरी कुल चार खर्ब ५५ अर्ब ३९ करोड रुपैयाँ बराबरको सार्वजनिक ऋण परिचालन भएको छ।


