चालु आर्थिक वर्ष (२०८२/८३) को पहिलो त्रैमास सकिनै लाग्दा पनि बैंक तथा वित्तीय संस्थाहरूमा ऋण दिन मिल्ने रकम (अधिक तरलता) अत्यधिक थुप्रिएको छ। हाल वित्तीय प्रणालीमा करिब ११ खर्ब ६१ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ ।
तर, लगानीयोग्य रकमको चाङ लाग्दा पनि कर्जा विस्तार भने ठप्पप्रायः छ। चालु आर्थिक वर्षको पहिलो साउनदेखि असोज २६ गतेसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले जम्मा ३० अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका छन्।
अधिक तरलता र न्यून कर्जा प्रवाहको यो अवस्था विशेषगरी भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनपछि सिर्जना भएको असहज परिस्थितिका कारण आएको बैंकहरू बताउँछन्। सुरुका महिनाहरूमा कर्जा माग बढ्ने र प्रतीतपत्र (एलसी) खुल्ने क्रम बढे पनि प्रदर्शनपछिको असहजताले कर्जा विस्तार ठप्प भएको हो।
वित्तीय क्षेत्रका जानकार परशुराम क्षेत्री कुँवरले अर्थतन्त्रमा सुधारका संकेत देखिएको बेला प्रदर्शनपछि समग्र समाजकै आत्मविश्वास खस्किएकोले कर्जा माग बढ्न नसकेको बताए।
अद्यावधिक तथ्यांकअनुसार, असोज २६ गतेसम्म बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ, जबकि कुल कर्जा प्रवाह ५६ खर्ब २१ अर्ब रुपैयाँ मात्रै छ। कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७४.५९ प्रतिशत मा झरेको छ।
गत साउनमा १० खर्ब १२ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेकोमा असोज तेस्रो सातासम्म यो बढेर ११ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षका ११ महिनासम्म औसत ६ खर्ब रुपैयाँ तरलता रहेकोमा अहिले यो दोब्बर भन्दा बढी हो।
चालु आर्थिक वर्षका तीन महिनामा १ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने कर्जा प्रवाह जम्मा ३० अर्ब रुपैयाँ मात्रै भएको छ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य तोकेको छ। लक्ष्य पूरा गर्न बैंक तथा वित्तीय संस्थाले करिब ६ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा विस्तार गर्नुपर्ने हुन्छ। तर, पहिलो त्रैमासमै कर्जा प्रवाह ३० अर्बमा सीमित हुँदा यो लक्ष्यमाथि ठूलो चुनौती देखिएको छ।
राष्ट्र बैंकका एक अधिकारीका अनुसार कर्जा माग बढाउने मुख्य भूमिका वित्त नीति (सरकारको खर्च) को हुने र मौद्रिक नीतिले सहजीकरण गर्ने हो। उनले अधिक तरलताको यो अवस्थामा सरकारले ऋण उठाएरै भए पनि ठूला पूर्वाधार र राष्ट्रिय गौरवका आयोजनाहरूमा लगानी विस्तार गर्नुपर्ने सुझाव दिएका छन्।
बजारमा अत्यधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले नियमित रूपमा बजारबाट पैसा झिकिरहेको छ। दसैंपछि मात्रै राष्ट्र बैंकले बजारबाट १६० अर्ब रुपैयाँ (आइतबार ५० अर्ब, मंगलबार ९० अर्ब, बुधबार २० अर्ब) तानेको छ। यद्यपि, छोटो समयका लागि झिकिएको यो रकम परिपक्व अवधिपछि पुनः बजारमा आउनेछ, जसले झनै अधिक तरलताको अवस्था सिर्जना गर्ने देखिन्छ।


