नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत कम्पनीहरुलाई समयमै वार्षिक नवीकरण शुल्क बुझाउन ताकेता गरेकको छ । चालु आर्थिक वर्ष २०८२–८३ को वार्षिक नवीकरण शुल्क असोज मसान्तसम्ममा बुझाउन सूचीकृत कम्पनीहरुलाई नेप्सेले यस अघि नै निर्देशन दिएको थियो । नेप्सेले पुरानै सूचना पुन प्रकाशित गरी कम्पनीहरुलाई जानकारी गराएको छ ।
तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा कम्पनीहरुको नवीकरण शुल्कको वार्षिक १०% का दरले जरिवाना तिर्नुपर्ने र धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकरण स्थगन गर्न सकिने चेतावनी पनि नेप्सेले दिएको छ । नेप्सेका अनुसार ५० करोड रुपैयाँसम्मको चुक्तापुँजी भएका कम्पनीले ५० हजार रुपैयाँ र ५० करोडभन्दा माथि चुक्तापूँजी भएकाले १ लाख रुपैयाँ नवीकरण शुल्क तिर्नुपर्नेछ ।
यस्तै, ५० करोड रुपैयाँसम्म चुक्तापुँजी भएका डिबेञ्चर र म्युचुअल फण्डले २५ हजार रुपैयाँ र ५० करोडभन्दा माथि चुक्तापुँजी भएकाले ५० हजार रुपैयाँ बुझाउनुपर्नेछ । नविकरण शुल्क रकम ग्लोबल आइएमई बैंकमा रहेको नेप्सेको खातामा जम्मा गर्न सकिनेछ ।
२०८२ साउन मसान्तसम्मा नेप्सेमा सूचीकृत कम्पनीहरुको संख्या २७४ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । त्यस्तै ९२ जलविद्युत्कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका रहेका छन्।


