उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निजी लगानीलाई प्रोत्साहन गर्ने तत्काल गर्नुपर्ने कामको सूची तयार पारी मातहतका निकायलाई निर्देशन दिएका छन्।
मन्त्री सिन्हाले निजी क्षेत्रलाई प्रोत्साहित गरी लगानी बढाउने प्रयासस्वरुप कानुनमा सुधारदेखि अरु नीतिगत निर्णय गर्ने कार्ययोजना तयार पारेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना बनाएको छ ।
मन्त्रालयले माघ महिनासम्म गर्ने कामको सूचीसहित कार्ययोजना बनाएको हो । कार्ययोजना अनुसार औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी प्रवर्धन गर्न कम्पनी विधेयकको मस्यौदा बनाउन लागिएको छ।
व्यावसायिक सुशासन प्रवर्धनका लागि नीतिगत तथा कानुनी सहजीकरण गर्ने मन्त्री सिन्हाको योजना अनुसार विधेयकको मस्यौदा तयार पार्न लागिएको हो। मस्यौदा तर्जुमाका लागि माघसम्मको समय तोकिएको छ।
मन्त्री सिन्हाले कम्पनी प्रशासनमा पनि सुधार गर्न लागेका छन् । कम्पनी कानुनका जानकार सिन्हाले निजी क्षेलाई प्रोत्साहित गर्ने गरी सुधारको कार्ययोजना बनाएका हुन्।
कम्पनी प्रशासनसँग सम्बन्धित सेवाको प्रवाभकारिता अभिवृद्धिका लागि कम्पनी दर्ता स्वीकृतिसँगै क्यामिसमार्फत कम्पनीको खाता रहने बैंकमा स्वचालितरुपमा सिफारिस गरी खाता खुल्ने प्रबन्ध गर्ने भनिएको छ । यसका लागि कम्पनी रजिष्ट्रारको कार्यालयलाई माघसम्मको समय तोकिएको छ।
यस्तै कम्पनी दर्ता एवं खारेजीमा प्रक्रियामा पनि सरलीकरण गर्न लागिएको छ । यसका लागि लगानीकर्ता र कम्पनीलाई सहज हुने गरी कम्पनी निर्देशिकालालाई तत्काल परिमार्जन गर्ने भनिएको छ । जसमा प्रबन्धपत्र लगायत कागजात कानुन व्यवसायीबाट प्रमाणित गर्नुपर्ने / तेस्रो पक्षको अनिवार्यता हटाइने मन्त्रालयले जनाएको छ।
स्वेट सेयरको विषयमा कार्यविधिमा उल्लेख गरिने भएको छ। यो प्रबन्ध गर्नका लागि कम्पनी रजिष्ट्रारको कार्यालयल माघसम्मको समय तोकिएको छ। विदेशी लगानी स्वीकृतिमा पनि सहजीकरण गर्न लागिएको छ। सबै प्रकारका विदेशी लगानी स्वीकृतिका लागि अटोमेटेड रुट प्रयोग सम्बन्धमा नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने मन्त्रालयको योजना छ। सूचना मंसिरभित्र निकाल्ने मन्त्रालयको कार्ययोजनामा उल्लेख छ ।
औद्योगिक क्षेत्रमा लिज प्रणालीलाई पनि सहज बनाउन लागिएको छ । औद्योगिक क्षेत्रबाट प्रवाह गरिने सेवा तथा लिज् हस्तान्तरण सम्बन्धी प्रक्रियालाई थप पारदर्शी बनाउन विनियमावलीमा आवश्यक संशोधन / परिमार्जन र खारेजी मंसिरसम्म गर्ने भनिएको छ । यसको जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई दिइएको छ।
यस्तै विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापनाका लागि प्रोत्साहन गर्न विशेष आर्थिक क्षेत्रको भूबहाल दर प्रति वर्गमिटर प्रति महिना २० रुपैयाँबाट ५ रुपैयाँमा झार्न मन्त्री सिन्हाले विशेष आर्थिक क्षेत्र प्राधिकरणलाई निर्देशन दिएका छन् । प्राधिकरणले यो काम मंसिरसम्म गरिसक्नुपर्नेछ।
वाणिज्य क्षेत्र सम्बद्ध सेवा प्रवाहको प्रक्रियागत सरलीकरणका लागि अनलाइन रजिष्ट्रेसन प्रणाली विकासका लागि माघसम्म खरिद प्रक्रिा सुरु गर्ने र आयात इजाजत पूर्णरुपमा अनलाइनबाट जारी गर्ने व्यवस्था मंसिरसम्म मिलाउने मन्त्रालयको कार्ययोजना छ ।


