जेनजी आन्दोलनमा क्षति भएका सरकारी संरचनाको पुनः निर्माण गर्न बनाइएको भौतिक पूर्वाधार पुनः निर्माण कोषमा ६ करोड ७ लाख मात्रै सहयोग प्राप्त भएको छ ।
आन्दोलनपछि बनेको सरकारले गत ८ असोजमा स्थापना भएको कोषमा आजसम्म ६ करोड ७ लाख मात्रै सहयोग जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले सरकारी संरचना पुनः निर्माणको लागि स्रोत व्यवस्थापन गर्न खोलिएको कोषमा अपेक्षित रकम संकलन हुन सकेको छैन ।
विगतमा भूकम्प, कोभिड तथा बाढीपहिरो गएका वेला सरकारले आह्वान गर्ने गरेको दैवी प्रकोप उद्धार कोषमा निजी क्षेत्रले ठुलो सहयोग गर्ने गरेका थिए । तर यस पटक व्यापारिक प्रतिष्ठानमा नै ठुलो क्षति भएकाले उद्योगी–व्यवसायीको समूहबाट कोषमा रकम सहयोग भएको छैन ।
मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले सबै पक्षको सहभागितामा पुनः निर्माण कार्य अघि बढाउन स्थापना गरिएको कोषमा बिहीबारसम्म ६ करोड ६ लाख रुपैयाँ जम्मा भएको बताए ।


