सरकारको दीर्घकालीन ढिलासुस्ती र नियामक निकायको उदासीनताका कारण स्मार्ट टेलिकमको सम्पत्ति र दायित्व व्यवस्थापन दुई वर्षदेखि अलपत्र परेको छ । अनुमतिपत्र रद्द भएको लामो समय बितिसक्दा पनि सम्पत्ति मूल्यांकनदेखि फर्स्योट प्रक्रियासम्म अघि नबढ्दा कम्पनीको वित्तीय दायित्व झन् बढ्दो क्रममा छ ।
दूरसञ्चार सेवा प्रवाह गर्दै आएको इजाजतप्राप्त उक्त कम्पनीको अनुमतिपत्र सरकारले २ वर्षअघि रद्द गरी सामान नियन्त्रणमा लिए पनि अहिलेसम्म व्यवस्थापन गर्न नसक्दा दायित्व भुक्तानी तथा फर्स्योट रोकिएको छ । दूरसञ्चार प्राधिकरणले सम्पत्ति व्यवस्थापनका लागि समयमै काम गर्न नसक्दा कम्पनीको दायित्व दिनानु दिन बढ्दै गएको स्मार्टसेलका एक अधिकारीले अभियानलाई बताए । उनका अनुसार कम्पनीका डिस्ट्रिब्युटरहरूको दबाब दिनहुँ बढ्दो छ, बैंकको कर्जा ब्याजको दायित्वसमेत दिनदिनै बढिरहेको छ ।
टावर सञ्चालन गर्न घर/जग्गाधनीसँग गरिएको करार बमोजिमको बहाल रकम भुक्तानी हुन सकेको छैन ।
प्राधिकरणले अनुमतिपत्र रद्द गरी सम्पत्ति रोक्का गरे पनि लामो समयसम्म प्रक्रिया नटुंग्याएको भन्दै स्मार्ट टेलिकमका एक शेयरधनीले गतवर्ष पुस २५ गते प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा प्राधिकरणले प्रक्रिया टुंग्याउन ढिलाइ गर्दा आफ्नो सम्पत्ति उपभोग गर्न र दायित्व भुक्तानी गर्न नपाएकाले दायित्व फर्स्योटका लागि सम्पत्ति र पूर्वाधार प्रणाली फुकुवा गर्नुपर्ने मागसमेत गरिएको थियो । तर, अहिलेसम्म सरकारले कुनै सुनुवाइ गरेको छैन ।
सरकारले सम्पत्ति व्यवस्थापनका लागि मूल्यांकन समिति गठन गर्नुपर्छ । यो मूल्यांकन समितिलाई स्मार्ट टेलिकमको सम्पत्ति तथा दायित्व यकीन गरी मूल्य निर्धारण गर्ने अधिकार हुन्छ । स्मार्टले सरकार, प्राधिकरण तथा अन्य संस्थालाई तिर्नुपर्ने रकम असुल गर्न सोही मूल्यको आधारमा लिलामी गर्ने कार्यादेश छ ।
मूल्यांकनको लागि समितिलाई ४ देखि ६ महीना सरकारले दिन सक्ने व्यवस्था दूरसञ्चार सेवाप्रदायकको सम्पत्ति व्यवस्थापन नियमावलीमा भए पनि त्यो समिति नै बन्न सकेको छैन ।


