Banijya News

सरकारले तोड्दै २१९ रुग्ण ठेक्का : निर्माण व्यवसायीमा त्रास

1
1.2K Shares

सरकारले लामो समयदेखि अलपत्र परेका र समयमै सम्पन्न हुन नसकेका पूर्वाधार आयोजनाहरूको ठेक्का तोड्ने प्रक्रियालाई तीव्र पारेको छ । यस कदमले निर्माण व्यवसायीहरूमा जताततै ठेक्का तोडिने त्रास सिर्जना भएको छ । निर्माण सम्झौता गरेको लामो समयसम्म काम अगाडि नबढाउने वा बीचमै काम अलपत्र छाड्ने प्रवृत्ति अन्त्यका लागि सरकारले सडक, स्वास्थ्य चौकी र भवन लगायतका ठेक्काहरू रद्द गर्न लागेको हो ।

सरकारले निर्माण क्षेत्रको काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्यका लागि मन्त्री कुलमान घिसिङको निर्देशनमा यो कदम चालिएको बताए पनि जेन–जी आन्दोलनले अर्थतन्त्र कमजोर भएको अवस्थामा ठेक्का तोड्दा थप असर पर्ने कतिपयको चिन्ता छ । यद्यपि, सरकारी अधिकारीहरू र विज्ञहरू भने पहुँच र मिलोमतोको आधारमा ठेक्का पारेर काम नगर्ने प्रवृत्तिलाई रोक्न बाध्यतावश यो कदम चाल्नुपरेको र यसले अर्थतन्त्रमा ठूलो असर नपर्ने बताउँछन् ।

यसका अतिरिक्त, पुल सेक्टर नेपालगञ्ज र पोखराले एक÷एकवटा पक्की पुलको, सस्पेन्सन ब्रिज डिभिजन ललितपुरअन्तर्गत छ वटा झोलुङ्गे पुलको र बबई सिँचाइ आयोजनाअन्तर्गतका छ वटा ठेक्का पनि तोड्ने प्रक्रियामा छन् ।

मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीका अनुसार सार्वजनिक खरिद सम्झौताबमोजिम कार्य समयमै सुरु नगरेको, कार्य सुरु गरे पनि उचित कारण र जानकारीविना स्थगित गरी बीचमै अलपत्र पारेको तथा सम्झौता अनुसार कामको प्रगति नभएको कारणले ठेक्का सम्झौता तोड्न लागिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०९ वटा सडकको ठेक्का तोड्न लागेको छ । सहरी विकास मन्त्रालयले नौवटा स्वास्थ्य चौकी र अन्य भवन तथा पूर्वाधारका ठेक्का तोड्ने तयारी गरेको छ । सबैभन्दा धेरै सडक डिभिजन काठमाडौंले ४९ वटा ठेक्का तोड्न लागेको छ भने जनकपुरले २१, तुम्लिङटारले १७, डोटीले १५ र इलामले १२ वटा ठेक्का रद्द गर्दैछ ।

काठमाडौं डिभिजन र धादिङस्थित सघन सहरी तथा भवन निर्माण आयोजनाले ठेक्का सम्झौता गरेका कम्पनीहरूलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ तथा नियमावली, २०६४ को नियम १२८ को उपनियम (२) को खण्ड (घ) बमोजिम खरिद सम्झौता किन अन्त्य नगर्ने र सोही ऐनको दफा ६३ बमोजिम कालोसूचीमा किन नराख्ने भन्दै आगामी सात दिन (कार्यालय समय) भित्र चित्तबुझ्दो स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । तोकिएको समयभित्र सम्पर्कमा नआए ठेक्का सम्झौता अन्त्य गरिने जानकारी दिइएको छ ।

1

Scroll to Top