Banijya News

कप्तान रोहितको शतकमा युएईलाई २३४ रनको लक्ष्य

1
1.1K Shares

कप्तान रोहितकुमार पौडेलको शतकप्रेरित नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई २३४ रनको लक्ष्य दिएको छ। बिहीबार दुबईमा नेपालका कप्तान रोहितले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए। नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदा २३३ रन बनाएको हो।

रोहितले १३० बलमा १०९ रन बनाए। जाहिद अलीको बलमा आउट हुनुअघि उनले पाँच चौका र दुई छक्का हिर्काएका थिए। ओपनर आसिफ शेखले ३५ रन बनाए।

१७.१ ओभरमा आसिफ शेख आउट भएपछि क्रिजमा पुगेका रोहितले ४७.६ ओभरसम्म रहेर नेपालको इनिङ्स तन्काए। एकातर्फ नेपालको इनिङ्स रोहितले तन्काउँदा अर्कोतर्फ भने युएईले विकेट लिइरह्यो। मध्यक्रमका आरिफ शेखले २७ तथा उपकप्तान दीपेन्द्रसिंह ऐरीले रनआउट हुनुअघि २३ रन बनाए। करण केसीले एक चौका र एक छक्काको मद्दतमा १३ रनको योगदान गरे। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

ओपनर कुशल भुर्तेल सात तथा तेस्रो क्रमका भीम सार्की मात्र तीन रन बनाएर आउट भए। आशा गरिएका गुल्सनकुमार झा डकआउट भए। सोमपाल कार्मीले ६ तथा सन्दीप लामिछानेले मात्र तीन रन जोड्न सके। युएईका लागि जाहिद अलीले सर्वाधिक चार विकेट लिँदा जुनाइद सिद्धिकीले तीन विकेट हात पारे।

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ मा नेपाल र युएई तालिकाको पुछारमा छन्। तालिकाको शीर्ष तीन टोलीले एकदिवसीय मान्यता जोगाउनेछन् भने विश्वकपको लागि छनोट पनि हुनेछन्।

1

Scroll to Top