Banijya News

रेल्वे स्टेसनमा थुप्रियो १२ हजार टन युरिया मल

1
1.2K Shares

ग्लोबल टेन्डरमार्फत नेपाल भित्रिरहेको युरिया मलको नियमित आपूर्तिले वीरगन्ज र सीमापारि रक्सौलका रेल्वे स्टेसनहरूमा मलको ठूलो चाङ लाग्न थालेको छ। गोदाम क्षमताले धान्न नसक्दा र कोटा निर्धारण नहुँदा एकैसाथ पाँच रेल्वे र्‍याकमा १२ हजार ५ सय टन युरिया मल थुप्रिएको छ।

हाल वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह र सीमापारि भारतीय रेल्वे स्टेसन रक्सौलमा गरी ५ रेल्वे र्‍याक युरिया मल एकसाथ आई पुगेको हो । तीमध्ये सुक्खा बन्दरगाहमा २ र रक्सौलमा तीन रेल्वे र्‍याक रहेका छन् । यसै साता छठ पर्वका कारण दुई दिन कार्यालय बिदा समेत रहेकाले रेल्वे स्टेसनहरूबाट कम्पनीको गोदाममा ढुवानी गरी मल आउन नसकेको हो ।

कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयय प्रमुख दुर्गाप्रसाद पाण्डेले ५ र्‍याकमा गरी १२ हजार ५ सय टन मल रहेको र उक्त मल कम्पनीको गोदाममा व्यवस्थापन गर्न कठिनाइ हुने भएको छ । कम्पनीको वीरगन्जस्थित आफ्नै परिसर, भुटनदेवी र नेसनल ट्रेडिङको गोदाम समेत गरी सबै गोदाम मलले भरिएकाले नयाँ आउने मलको व्यवस्थापनमा समस्या भएको उनले बताए ।

हाल तीनवटै गोदाममा गरी २३ हजार ५ सय टन मल वीरगन्जमै मौज्दात रहेको उनले बताए । त्यसमध्ये ६ हजार टन युरिया र बाँकी डीएपी मल हो । प्रदेश कृषि मन्त्रालयले पुरानै कन्साइन्मेन्टबाट भित्रिएका मलको कोटा हालसम्म नलगाएकाले वीरगन्जबाट अन्यत्र मल परिचालन हुन नसकेको हो ।

हाल पाँचवटा र्‍याकमा आइपुगेको मल आदित्य बिरला र आईपीएल कम्पनीले ल्याएका हुन् । आईपीएल र आदित्य बिरलाले कम्पनी र नेसनल टेड्रिङको समेत गरी ५५ हजार टन युरिया मल एकसाथ नेपाल ल्याउँदै छन् । हाल आइसकेको मललाई गोदाममा व्यवस्थापन नगरिए निरन्तर थपिँदै जाने र मलको व्यवस्थापनमा झनै समस्या आउने सरोकारवालाले बताए ।

अहिले मलको माग नरहेको र आउँदो हिउँदमा गहुँ बालीका लागि यो मल उपयोगी हुने कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयय प्रमुख पाण्डेले बताए ।

1

Scroll to Top