Banijya News

लक्ष्यको ८८.७९ प्रतिशत राजस्व सङ्कलन

1
1.2K Shares

असोज महिनामा लक्ष्यको ८८.७९ प्रतिशत राजस्व सङ्कलन भएको छ । अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार असोज महिनामा १ खर्ब ३ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेकोमा ९१ अर्ब ५१ करोड रुपैयाँ सङ्कलन गरेको छ । असोज महिनाको लक्ष्यको ८८ प्रतिशत राजस्व असुली भएको हो । तर आन्दोलन हुनुभन्दा पहिले साउनमा लक्ष्यको ६८ प्रतिशत, भदौमा ७७ प्रतिशत मात्रै राजस्व असुली सरकारले गरेको थियो । तर आन्दोलन र लामो चाडपर्व बिदा हुँदा पनि असोजमा ८८ प्रतिशत पुग्नु सकारात्मक भएको सरकारी अधिकारीहरू बताउँछन् ।

उनीहरूले जेनजी आन्दोलनले भन्सार कार्यालयहरू जलेर नष्ट भएको र मानिसहरूको जीवन अस्तव्यस्त भएको अवस्थामा पनि राजस्व असुली सकारात्मक भएको बताए । यस्तो विपरीत परिस्थितिमा पनि सरकारले राजस्व असुलीमा उल्लेखनीय सुधार हुनुका पछाडि सरकारले वर्तमान सरकारले चालेका नीतिगत सुधारको प्रत्यक्ष परिणाम भएको राजस्वका अधिकारीको भनाइ छ ।

चालु आर्थिक वर्षको साढे तीन महिना कात्तिक १६ गतेसम्मको आयकर, मूल्य अभिवृद्धि कर, भन्सार, अन्त:शुल्क लगायत विभिन्न कर शीर्षकमा उल्लेखनीय असुली देखिएको छ ।

वर्तमान सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले कर प्रशासनमा ल्याएको सुधारको प्रतिबिम्बित भएको मन्त्रालयले जनाएको छ । भन्सार राजस्व असुली सुधारले कर छली नियन्त्रणमा सरकारको प्रयास प्रभावकारी बनाउनुको परिणाम भएको मन्त्रालयको दाबी छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले मुलुकमा भएका आन्दोलन र बन्द हडतालका बाबजुद चालु आर्थिक वर्षको पहिलो तीन महिनामा राजस्व सङ्कलनमा सन्तोषजनक वृद्धि भएको बताए ।

राजस्व वृद्धि हुनुमा अन्तःशुल्क सङ्कलनमा भएको राम्रो प्रगतिले मुख्य भूमिका खेलेको उनको भनाइ छ । ‘एक्साइजको ग्रोथ राम्रो भएका कारण समग्रमा राम्रै देखिएको हो,’ उनले प्रष्ट पारे ।

दसैँ–तिहारजस्ता चाडपर्वहरू अघिल्ला वर्षहरूको तुलनामा चाँडै परेकाले पनि अन्तःशुल्क सङ्कलनमा वृद्धि भएको हो । असोज महिनामा रक्सी तथा अन्य अन्तःशुल्क लाग्ने वस्तुहरूको व्यापार बढ्दा त्यसको सकारात्मक प्रभाव राजस्वमा देखिएको हो । तर सबै क्षेत्रमा भने अवस्था उस्तै छैन । पुँजीगत लाभकर सङ्कलनमा भने कमी आएको छ । सेयर बजारको कारोबारमा आएको गिरावट र घरजग्गा कारोबारमा देखिएको सुस्तताका कारण पुँजीगत लाभकर घटेको हो ।

1

Scroll to Top