आर्थीक वर्ष ०८०/८१ सम्म साढे १७ अर्ब रहेको वायुसेवा निगमको सञ्चित नोक्सानी चालू आवमा २० अर्ब नाघ्ने अनुमान गरीएको छ ।
सञ्चित नोक्सानी २० अर्ब नाघ्ने अनुमान गरिएको वायुसेवा निगम ५२ अर्ब ऋणमा छ । वायुसेवा निगम अहिले १७ अर्बभन्दा बढी सञ्चित नोक्सानीमा छ । जहाज किन्दा लिएको ३४ अर्ब रुपैयाँ ऋणसमेत बढेर ५२ अर्ब पुगेको छ । आम्दानी घट्ने र घाटा बढ्ने नियतिले निरन्तरता पाइरहेको छ । ०७८/७९ मा निगमले १६ अर्ब ८९ करोड आय गरेको थियो । ०७९/८० मा बढेर २३ अर्ब ८६ करोड पुगेको थियो । तर, त्यसपछिका दुई वर्षमा आय घट्दै गएको देखिन्छ । ०८०/८१ मा २१ अर्ब पाँच करोड रहेको कुल आय ०८१/८२ मा घटेर २० अर्ब ६७ करोडमा सीमित भयो ।
०७९/८० मा १८ अर्ब ६३ करोड रहेको उडान सञ्चालन आय ०८०/८१ मा घटेर १५ अर्ब ३५ करोडमा सीमित भयो । ०८१/८२ मा अझै घटेर १५ अर्ब १७ करोड मात्र रहने अनुमान गरिएको छ । ग्राउन्ड ह्यान्डलिङबाट सोही वर्ष पाँच अर्ब २२ करोड आम्दानी भएको निगमले जनाएको छ ।
लगातारको घाटाका कारण निगमको सञ्चित नोक्सानी बढ्दै गएको छ । ०७८/७९ मा १५ अर्ब १८ करोड रहेको नोक्सानी ०७९/८० मा १५ अर्ब ५९ करोड पुग्यो । ०८०/८१ मा अझै बढेर १७ अर्ब ४६ करोड पुग्यो भने ०८०/८१ मा २० अर्ब नाघ्ने अनुमान गरिएको छ ।
निगमले जहाज खरिदसम्बन्धी ऋण दायित्व शीर्षकअन्तर्गत ०८२ असोजसम्म कुल आठ अर्ब ४५ करोड २४ लाख १८ हजार रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको जनाएको छ ।
ऋणले थलिएको यही निगमका एक हजारभन्दा धेरै कर्मचारीले राजनीतिक पहुँच लगाएर जागिर खाएका छन् । ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, ०८२’ अनुसार पाँच सय ३९ अस्थायी, दुई सय ७३ करार र दुई सय ६६ ज्यालादारीका रूपमा कुल एक हजार ७८ कर्मचारी पहुँच लगाएर निगममा कार्यरत छन् ।
एक साताअघि मात्रै बिदा भएका निगमका पूर्वअध्यक्ष युवराज अधिकारीले अवकाशको मुखैमा थप केही कर्मचारी भर्ना गरेका थिए । निगममा हाल दुई हजार चार कर्मचारी रहेकामा ९२६ मात्रै स्थायी छन् । निगमलाई आर्थिक रूपमा धराशायी बनाउन पहुँचका आधारमा अनावश्यक भर्ती गरिएका कर्मचारीको पनि योगदान छ ।
कर्मचारीको तलब सुविधामा मात्रै निगमले वार्षिक सवा अर्ब खर्च गर्ने गरेको छ । महालेखापरीक्षकको प्रतिवेदनअनुसार निगमले आर्थिक वर्ष ०७९/८० मा कर्मचारीको तलब तथा सेवा–सुविधामा मात्रै एक अर्ब २३ करोड ४९ लाख खर्च गरेको थियो । ०८०/८१ मा भने निगमले लेखापरीक्षण प्रतिवेदन नै नबुझाएको महालेखा परीक्षकको कार्यालयले जानकारी दियो ।


