Banijya News

अन्तरिम सरकारले स्वीकृत गर्यो एक सय ७५ मिलियन डलर सहायता

1
1.2K Shares

जेन–जी आन्दोलनपश्चातको डेढ महिनाको अवधिमा सरकारले द्विपक्षीय तथा बहुपक्षीय दातृ निकायहरूबाट उल्लेख्य मात्रामा वैदेशिक सहायता स्वीकृत गरेको छ। यस अवधिमा सरकारले कुल एक सय ७५ मिलियन डलर (अमेरिकी डलर) र ५० मिलियन युरो बराबरको सहायता स्वीकार गरेको छ। अर्थ मन्त्रालयका अनुसार यो सहायतामा केही नयाँ प्रतिबद्धताहरू छन् भने अधिकांश पुराना प्रतिबद्धताहरू कार्यान्वयनमा आएका हुन्।

अन्तरिम सरकारमा अर्थ प्रशासनका रामेश्वर खनाल अर्थमन्त्री भएपछि द्विपक्षीय र बहुपक्षीय दातासँग समन्वय गरी सहायता भित्र्याउन अग्रपंक्तिमा खटिएका थिए । जसकारण डेढ महिनाको अवधिमा विश्व बैंक, एसियाली विकास बैंक, युरोपेली युनियन, अमेरिका, जर्मनीलगायतका दाताहरूले पुरानासहित नयाँ सहायताको प्रतिबद्धतासमेत गरेका छन् ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको सरकार गठनयताको कार्यप्रगतिमा २ असोजमा युरोपेली युनियनसँग नौ मिलियन युरो प्राविधिक सहायता सम्झौता र जर्मन सरकारसँग २२ असोजमा २० मिलियन युरो वित्तीय तथा २१ मिलियन युरो प्राविधिक सहायता सम्झौता गरेको उल्लेख छ । त्यस्तै, ३० असोजमा विश्व बैंकको मल्टी डोनर ट्रस्ट फन्डमार्फत १० मिलियन अमेरिकी डलर अनुदान र एसियाली विकास बैंकबाट सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिन २३ असोजमा वार्ता सम्पन्न भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

विश्व वातावरण सुविधामार्फत ‘मध्य नेपालमा धानमा आधारित खेती तथा खाद्य प्रणालीको जलवायु उत्थानशील रूपान्तरण’ परियोजनाका लागि ८७ लाख अमेरिकी डलर अनुदान, जिइएफ कोषबाट सुदूरपश्चिममा वन तथा पर्वतीय पारिस्थितिक प्रणाली पुनस्र्थापना परियोजनाका लागि २२ लाख अमेरिकी डलर अनुदान, स्थानीय जलवायु अनुकूलनशील जीवनयापन सुविधा परियोजनाका लागि ४२ लाख अमेरिकी डलरबराबरको सहायता सम्झौता स्वीकृत र एमसिसीका अतिरिक्त ५० मिलियन अमेरिकी डलर सहयोग स्वीकार गर्ने १२ असोजको मन्त्रिपरिषद्ले निर्णय गरेको अर्थले जनाएको छ ।

1

Scroll to Top