Banijya News

राहदानीको मौज्दात घटेसँगै दैनिक एक हजार मात्र वितरण

1
1.2K Shares

राहदानी विभागले राहदानीको मौज्दातमा आएको ठूलो कमीका कारण दैनिक वितरण हुने राहदानीको संख्या घटाएको छ। विभागका अनुसार अब दैनिक १ हजार थान मात्र राहदानी जारी गरिनेछ।

हालैका दिनहरूमा राहदानीको माग अस्वाभाविक रूपमा बढेको र सोही अनुपातमा मौज्दात घट्दै गएपछि विभागले वितरणको व्यवस्थापन गर्न यो कदम चालेको हो।

विभागका महानिर्देशक तीर्थराज अर्यालले राहदानीको मौज्दात घट्दै जाँदा वितरणमा कोटा तोकिएको बताएका छन् । उनका अनुसार विभागबाट दैनिक १ हजार वितरण गर्ने तयारी छ तर माग दोब्बरजस्तै छ ।

पछिल्लो समय उच्च माग भएकाले विभागले अत्यावश्यक अवस्थामा मात्रै राहदानी सेवा लिन भनेको छ । उनका अनुसार हाल नयाँ आपूर्तिकर्ता र हालका आपूर्तिकर्ताबीच ‘ह्यान्डओभर–टेकओभर’ प्रक्रियाको संक्रमणकालीन अवस्था रहेकाले पासपोर्ट सीमित संख्यामा मात्र उपलब्ध गराउनुपरेको हो ।

सरकारले करीब ६४ लाख थान पासपोर्ट आपूर्ति गराउनका लागि नयाँ आपूर्तिकर्तासँग २०८२ साउनमा खरीद सम्झौता गरेको छ । सम्झौताअनुसार आगामी ११ फागुनदेखि छनोट भएका कम्पनीहरूले राहदानी सेवा सञ्चालन गर्न नयाँ पूर्वाधार तथा प्रणाली निर्माणको काम गरिरहेको उनी बताउँछन् ।

राहदानी विभागले १३ मङ्सिर २०८१ मा पासपोर्ट खरीदका लागि ठेक्का आह्वान गरेको थियो । खरीद प्रक्रिया दुई प्याकेजमा विभाजन गरिएको छ । पहिलो प्याकेजमा म्युहलबौयर आईडी सर्भिस जीएमबीएचले १ अर्ब ५५ करोड रुपैयाँको र दोस्रो प्याकेजमा भेरिडोस जीएमबीएचले ६ अर्ब ११ करोड ३८ लाख रुपैयाँको ठेक्का पाएका छन् । हाल पासपोर्टको सीमित उपलब्धताका कारण वितरणमा समस्या भएको अर्याल बताउँछन् ।

उनका अनुसार सेवाग्राहीको उच्च माग व्यवस्थापन गर्न बायोमेट्रिक (फोटो खिच्ने, औंठाछाप दिने आदि) प्रक्रियाका लागि दैनिक १ हजार स्लट (सार्वजनिक बिदाको अघिल्लो दिनबाहेक) मात्रै खुलाउने निर्णय गरिएको छ । सोमवारदेखि हरेक दिन साँझ ५ बजे ती स्लटहरू अनलाइन प्रणालीमार्फत खुल्नेछन् । सामान्य अवस्थामा भने दैनिक करीब ३ हजार पासपोर्ट वितरण हुनेछ ।

विभागले राहदानीका विषयमा अनधिकृत व्यक्तिको भर नपर्न र त्यस्ता व्यक्तिबाट हुन सक्ने ठगीबाट सावधान रहन सर्वसाधारणलाई आग्रह गरेको छ । राहदानीजस्तो संवेदनशील विषयमा निर्णय गर्दा समयमै ध्यान दिनु आवश्यक भए पनि राजनीतिक तथा प्रशासनिक कमजोरीका कारण ठूलो संकट आउनसक्ने खतरा रहेको कतिपयले तर्क गरेका छन् ।

1

Scroll to Top