Banijya News

भोलीदेखि आईपीओ जारी गर्दै एसवाई प्यानल

1
1.2K Shares

एसवाई प्यानल नेपाल लिमिटेडले कात्तिक १९ गते बुधवारदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । यस अघि कम्पनीले सर्वसाधारण तर्फको शेयरमध्ये उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको छ । कम्पनीले असोज ७ गतेदेखि १० गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरी असोज २३ गते बाँडफाँट गरेको हो भने उद्योग प्रभावित स्थानीयमा असोज ७ गतेदखि असोज २१ गतेसम्म आईपीओ जारी गरी कात्तिक २ गते बाँडफाँट गरेको हो ।

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) ले कम्पनीलाई जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशतले हुन आउने ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । पहिलो चरणमा २ प्रतिशत अर्थात २ करोड ६१ लाख ६२ हजार ७०० रुपैयाँ बराबरको २ लाख ६१ हजार ६२९ कित्ता आईपीओ उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र थप सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ४ करोड ९७ लाख ९ हजार २०० रुपैयाँ बराबरको ४ लाख ९७ हजार ९२ कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन तथा बाँडफाँट गरिएको हो ।

यी वाहेक पनि कम्पनीले कर्मचारीहरुका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरुका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरेको छ । बाँकी रहेको ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँ बराबरको ४० लाख ७६ हजार १५६ कित्ता आईपीओ भने थप सर्वसाधारणमा निष्कासन हुनेछ । थप सर्वसाधारण लगानीकर्ताहरुले आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सक्नेछन् । यो आईपीओ निष्कासन मिति छिटोमा कात्तिक २३ गतेसम्मका लागि तोकिएको छ । सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा मंसिर ३ गतेसम्म निष्कासन लम्बिने जानकारी कम्पनीले दिएको छ । तर कम्पनीको आईपीओ खरीदका लागि पहिलो चरणमा समेत लगानीकर्ताको उच्च माग रहेकाले थप सर्वसाधारणबाट समेत उच्च माग हुने आशा गरिएको छ । यसर्थ यो कम्पनीको आईपीओ छिटो अवधि कात्तिक २३ गतेसम्म मात्र निष्कासनमा रहने निश्चित छ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था रहेको छ । साथै मेरो शेयर अनलाईनमार्फत समेत आवेदन दिन सकिनेछ । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

1

Scroll to Top