दैलेखमा फेला परेको प्राकृतिक ग्यासको व्यावसायिक उपयोग सम्भावनाबारे अध्ययन गर्न गठित समितिले मल कारखाना स्थापना गर्न सकिने सुझावसहित अन्य विविध उपयोगका सम्भावना देखाएको छ । नेपाल आयल निगमका निर्देशक विनितमणि उपाध्यायको संयोजकत्वमा गठन गरिएको अध्ययन समितिले मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई विस्तृत प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
अध्ययन समितिका सदस्यका अनुसार दैलेखको प्राकृतिक ग्यासको प्रयोग मुख्यतयाः मल कारखाना सञ्चालन, सवारी साधनमा प्रयोग हुने कम्प्रेस्ड नेचुरल ग्यास (सिएनजी) र घरायसी प्रयोजनका लागि पाइप नेचुरल ग्यास (पिएनजी) मा गर्न सकिने सम्भावना देखिएको हो ।
यसअघि गरिएको प्रारम्भिक अध्ययनले दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास (मिथेन) रहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो । हाल त्यसको परीक्षण (टेस्टिङ) का लागि नमुना चीन पठाइएको छ । यसको रिपोर्ट यही डिसेम्बर महिनामा आउँदैछ ।
उपाध्यायको समितिले गरेको अध्ययनले प्राकृतिक ग्यासको उपयोगितामा मल कारखाना सञ्चालन गर्ने सकिने देखिएको छ । मल कारखानाका लागि सम्भावित ठाउँको रूपमा सुर्खेतलाई तोकिएको छ । सुर्खेतमा मल कारखाना स्थापना गर्न करिब १.१ बिलियन अमेरिकी डलर लगानी लाग्ने अनुमान गरिएको छ । यो कारखानाले वार्षिक ७ लाख मेट्रिक टनभन्दा बढी उत्पादन गर्न सक्नेछ ।
यस्तै, अर्को दैलेखको उत्खनन् स्थलबाट ग्यासलाई पाइपलाइन मार्फत सुर्खेतसम्म ल्याउन सकिने सुझाव दिइएको छ । यसका लागि डिटेल इन्जिनियरिङ स्टडी आवश्यक रहेको बताइएको छ । भौगोलिक अवस्था अनुसार प्रति किलोमिटर पाइपलाइन बिछ्याउन ८ देखि १२ करोड रुपैयाँसम्म लागत लाग्न सक्ने अनुमान गरिएको छ । दैलेखको नारायण नगरपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा समेत ग्यास वितरण गर्न सकिने सम्भावना देखिएको छ ।
यस्तै, सीएनजी (गाडीमा प्रयोग हुने) र पीएनजी (खाना पकाउने) को प्रयोग छिमेकी देश भारतमा अत्यधिक बढेको हुँदा यसलाई उत्खनन् गरी भविष्यमा निर्यात गर्न सक्ने सम्भावना देखिएको अध्ययन समितिका ती सदस्यको भनाइ छ । समितिले यो प्राकृतिक ग्यासको परियोजनालाई ‘रणनीतिक महत्वको स्रोत’ मान्दै यसलाई सरकारकै नियन्त्रणमा राख्नुपर्ने सुझाव दिएको छ । सुझावमा पीपीपी (सार्वजनिक–निजी साझेदारी) मोडललाई प्राथमिकतामा राखिएको छैन ।
परियोजना सञ्चालनका लागि मुख्य तीनवटा लगानी मोडालिटी सिफारिस गरिएका छन् । आयल निगमको पेट्रोलियम पदार्थको आपूर्ति र व्यवस्थापनमा ५० वर्षको अनुभव तथा वार्षिक १ खर्बभन्दा बढी रुपैयाँ सरकारलाई राजस्व बुझाउने क्षमता भएको संस्था भएकाले यसैलाई उत्पादनदेखि बिक्री वितरणसम्मको सम्पूर्ण जिम्मेवारी दिन सकिने सुझाव दिएको छ ।
आयल निगम र अन्य सरकारी निकायको संयुक्त लगानीमा परियोजना सञ्चालन गर्न सकिने छ । निगमको ५१ प्रतिशत वा सोभन्दा बढी लगानी हुने र नेपाल सरकारको अन्य निकाय (जस्तैः वाणिज्य बैंक, नेपाल टेलिकम) ले ४९ प्रतिशत वा सोभन्दा कम लगानी गरेर स्रोत जुटाउन सक्नेछन् । यस्तै, आयल निगम तथा अन्तर्राष्ट्रिय तेल कम्पनीहरूको संयुक्त लगानी गर्न सकिने सुझाव पनि समितिको छ ।
नेपालको भौगोलिक विकटता र कठिनताका कारण यो परियोजनाको लागत बाहिरतिर (जस्तो भारत) को तुलनामा १.५ गुणा (१५० प्रतिशत) सम्म महँगो पर्न सक्ने देखिएको छ ।
नेपालमा प्रयोग गरेर बाँकी भएको ग्यास निर्यात गर्नुपर्ने अवस्था आएमा छिमेकी मुलुकहरू भारत र चीन ठूला बजार हुन् । भारतले आफ्नो प्राकृतिक ग्यासको मागमध्ये ८५ प्रतिशतसम्म आयात गरिरहेको छ । तर, फेरि समितिले विस्तृत अध्ययन नगरीकन यसको वास्तविक लागत र अन्य प्राविधिक विषयमा अहिले नै पूर्ण निक्र्योल गर्न नसकिने जानकारी दिएको छ ।
प्राकृतिक ग्यासको व्यावसायिक उत्पादनको सम्भाव्यता अध्ययन समिति विनितमणि उपाध्यायको संयोजकत्वमा गठन भएको थियो । समितिमा खानी तथा भू–गर्भ विभागका सिडिजि धर्मराज खड्का, पेट्रोलियम अन्वेषण परियोजनाका सिडिकेई मनिष कर्ण सदस्य र निगमका सहायक प्रबन्धक दिप्ती पौडेल सदस्य सचिव थिइन् । लामो समयदेखि दैलेखको जलजलेमा अध्ययन गरिरहेको चिनियाँ अध्ययन टोलीले गत असारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास (मिथेन) रहेको उक्त प्रतिवदेनमा पुष्टि गरेको छ ।
चनियाँ अध्ययन टोलीले २०७८ वैशाख २८ गतेदेखि सुरु गरेको पहिलो ड्रिलिङ ४ हजार १३ मिटर गहिराइमा पुर्याएको थियो । उत्खनन् कार्य भने २०८० वैशाखदेखि सुरु भएको थियो । त्यसबाट संकलन गरिएका नमुनाको परीक्षणमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको हो । विस्तृत अन्वेषण र ड्रिलिङ गर्नको लागि सरकारले दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । अहिले चारवटा सम्भावित इनारमध्ये पहिलोको मात्रै प्रारम्भिक नतिजा हो । बाँकी तीनको प्रारम्भिक अनुमानअनुसार जलजले क्षेत्रमा कुल ४ सय ३० अर्ब घनमिटर ग्यास हुने प्रक्षेपण गरिएको छ ।
चीनको सरकारी संस्था चाइना जिओलोजिकल सर्भे र सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले संयुक्त रूपमा गरेको अन्वेषणमा यो परिमाणको ग्यास रहेको पुष्टि भएको हो । चिनियाँ अध्ययन टोलीले बुझाएको प्रतिवेदन अनुसार दैलेखको जलजलेमा ५० वर्षलाई पुग्ने प्राकृतिक ग्यासको खानी रहेको जनाएको छ । अन्तिम अध्ययन प्रतिवेदन आएपछि ग्यासको परिमाण अझै थपिन सक्ने अपेक्षा गरेको छ ।


