Banijya News

रुपन्देहीका ४ उद्योगले बक्यौता रकम बुझाएपछि जोडियो बिजुली

1
1.2K Shares

रुपन्देहीका चार उद्योगले नेपाल विद्युत प्राधिकरणलाई ट्रंकलाइन विवादको पहिलो किस्तावापतको धरौटी रकम बुझाएपछि ती उद्योग पूर्णरुपमा सञ्चालनमा आएका छन्। धरौटी रकम बुझाएसँगै प्राधिकरणले काटिएको बिजुली लाइन तत्काल जडान गरिदिएको हो। सञ्चालनमा आएका उद्योगहरूमा पञ्चकन्या औद्योगिक समूहका पञ्चकन्या स्टील इण्डष्ट्रिज र पञ्चकन्या प्लाष्टिक उद्योग, साथै सिद्धार्थ पेट प्लास्ट र श्याम प्लास्टिक रहेका छन्। करिब आठ वर्षदेखि ट्रंकलाइन महसुलको विषयमा आन्दोलित रहेका बुटवल–भैरहवा करिडोरका डेढ दर्जन उद्योगमध्ये यी चार उद्योगले पहिलो किस्ता बुझाएका हुन्। रुपन्देहीका उद्योगले धरौंटी वापतको पहिलो किस्ता प्राधिकरणलाई बुझाएसंगै ४ उद्योग संचालनमा भएका छन् । सोमबार अपरान्ह उनीहरुले धरौटी बुझाएलगत्तै उद्योगको काटिएको लाइन जडान गरिएको थियो ।

पंचकन्या समूहले पत्रकार सम्मेलन गरी लाइन जडान गरिएपछि मंगलबार बिहानबाट उद्योग पूर्णरुपमा सञ्चालनमा आएको जानकारी दिएको छ । उद्योगका महाप्रवन्धक देवेन्द्र साहुले सोमबार राति केही घण्टामात्र उद्योग सञ्चालन गरिएको बताए । उद्योग सञ्चालकलाई ट्रंकलाइनबारे जानकारी बिनै अन्यायपूर्वक विद्युत महशुल अशुल्न खोजिएको भन्दैं करिब ८ वर्षदेखि पञ्चकन्या लगायत बुटवल–भैरहवा करिडोरका डेढ दर्जन उद्योग आन्दोलित थिए । सरकारसँगको वार्तामा धरौंटी बुझाएर न्यायका लागि कानुनी पक्रियामा जाने बाटो खुला गर्ने सहमती भएपछि पहिलो किस्ता बुझाएको साहुले बताए ।

प्राधिकरणले ट्रंकलाइन महशुल वक्यौंता बिबाद देखाएर कार्तिक ७ गते लाइन काटेपछि दुबै उद्योग बन्द थिए । यस अवधिमा उद्योगभित्र आश्रित दुई सय कर्मचारी र उनीहरुका परिवारका लागि जेनेरेटर चलाएर पिउने पानी र बिजुली आपूर्ति गरिएको र एकजना पनि कर्मचारीलाई कामबाट नहटाएको उनले बताए ।

उद्योग बन्द भएका बेलाको खर्च बक्यौंता महशुलभन्दा धेरै रहेको र महशुल नतिर्ने आफूहरुको नियत नभई न्यायका लागि लडाईमा रहेको उनले जिकिर गरे । अहिले धरौंटी वापत पहिलो किस्ता बुझाएको जनाउँदै आगामी दिनमा न्याय प्राप्तिका लागि विद्युत नियमन आयोगदेखि अदालतको ढोकासम्म पुग्ने उनले जानकारी दिए । पञ्चकन्या समूहसित जोडिएका श्रमिकको रोजीरोटी सुरक्षित गर्दै यहाँबाट सामान अर्डर गरेका राष्ट्रिय गौरबका आयोजनाका माग पूर्ति गर्न उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको महाप्रवन्धक साहुको भनाई छ । यसैगरी सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले पनि सोमबार बक्यौताको पहिलो किस्ता तिरेका छन् ।

पहिलो किस्ता तिरेपछि प्राधिकरणले यी दुई उद्योगको विद्युत जोडिदिएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले भने अर्थतन्त्र चुनौतीपूर्ण र उद्योगहरूले न्यून क्षमतामा वस्तु उत्पादन गरी जेनतेन उद्योग सञ्चालन गरिरहेको अवस्थामा प्राधिकरणले बिजुलीको लाइन काट्दा उद्योगहरू थप मर्कामा परेको बताए । उद्योगहरुले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग बापत महशुल बक्यौता रहेको भन्दै प्राधिकरणले उद्योगहरुलाई ताकेता गरेको थियो ।

पञ्चकन्या प्लाष्टिकको २४ लाख ६३ हजार, पञ्जकन्या स्टीलको ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको १ करोड ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैर्या बक्यौता रहेको प्राधिकरणले जनाएको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी उद्योगहरुले पहिलो किस्ता तिरेका छन् ।

उद्योगको नाम बक्यौता रकम (रुपैयाँमा)
पञ्चकन्या स्टील इण्डष्ट्रिज ५२ लाख १९ हजार
पञ्चकन्या प्लाष्टिक उद्योग २४ लाख ६३ हजार
सिद्धार्थ पेटप्लान्ट १ करोड ८३ लाख
श्याम प्लास्टिक ४९ लाख १० हजार

1

Scroll to Top