Banijya News

नेपालमा लगानीका अवसरसँगै चुनौतीबारे चेम्बर र विश्व बैंकबीच छलफल

1
1.3K Shares

नेपाल चेम्बर अफ कमर्स र विश्व बैंक समूहबिच नेपालको निजी क्षेत्रको अवस्था, लगानीका अवसर र वर्तमान चुनौतीबारे उच्चस्तरीय छलफल भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा उक्त छलफल भएको हो ।

छलफलमा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल, पदाधिकारी, विभिन्न समितिका सभापति तथा उद्योगी–व्यवसायीहरू एवं विश्व बैंक समूहका साउथ एसिया लिड इकोनोमिस्ट मर्चिन पियाट्कोस्की नेतृत्वको टोलीले सहभागिता जनाएको थियो ।

छलफलका क्रममा अध्यक्ष अग्रवालले मुलुकको वर्तमान आर्थिक अवस्था, ‘जेनजी आन्दोलन’पछिको आर्थिक प्रभाव, लगानी वातावरण, नीति तथा कानूनी सुधारका आवश्यक पक्ष र दिगो आर्थिक विकासका सम्भावनाबारे धारणा राखे ।

प्राकृतिक स्रोतका दृष्टिकोणले नेपाल दक्षिण एसियाकै उत्कृष्ट रहेको अध्यक्ष अग्रवाले बताए ।

नेपाललाई अति कम विकसित मुलुक (एलडीसी) बाट मात्र नभई दक्षिण एसियामा सबैभन्दा बढी प्रतिव्यक्ति आय हासिल गर्ने मुलुकका रूपमा स्थापित गर्ने लक्ष्य रहेको अध्यक्ष अग्रवालको भनाई छ ।

अध्यक्ष अग्रवालले नेपालमा रहेको ५७ प्रतिशत युवा जनशक्ति, कम उत्पादन लागत, अनुकूल मौसम तथा लगानीको प्रतिफल सुनिश्चितता जस्ता सबल पक्षले नेपाललाई वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य बनाएको उल्लेख गरे । भौतिक पूर्वाधार, कृषि, जलविद्युत, पर्यटन, खानी, जडीबुटी तथा औषधीजन्य वनस्पति जस्ता क्षेत्रमा लगानीका ठूलो सम्भावना रहेको र यी क्षेत्रहरूमा नीतिगत स्पष्टता र लगानीमैत्री वातावरण सृजना गर्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।

जेन्जी आन्दोलनपछि अर्थतन्त्रमा असर पारेपनि निजी क्षेत्रको मनोबल उच्च रहेको अध्यक्ष अग्रवालले बताए । जेन्जी आन्दोलनपछि नेपालको आर्थिक वृद्धि २ दशमलव १ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण वास्तविक नरहेको भन्दै अध्यक्ष अग्रवालले पुनरावलोकनका लागि आग्रह गरे ।

छलफलमा चेम्बरका विभिन्न समितिका सभापति तथा उद्योगी–व्यवसायीहरूले कृषि, सूचना प्रविधि, जग्गा तथा आवास, ऊर्जा, पर्यटन र सेवा क्षेत्रसँग सम्बन्धित समस्या, चुनौती र सुधारका सुझाव प्रस्तुत गरे ।

विश्व बैंक समूहका प्रतिनिधि मर्चिन पियाट्कोस्कीले नेपालको निजी क्षेत्रको सुदृढीकरणका लागि संस्थागत सुधार, लगानी प्रवर्द्धन, नीति–सामञ्जस्य र नवप्रवर्तनमा ध्यान दिनुपर्नेमा जोड दिए । विश्व बैंकका तर्फबाट नेपालमा लगानीका अवसर पनि नीति स्थायित्व र कार्यान्वयन क्षमताको सुदृढीकरण सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

विश्व बैंकका तर्फबाट पियाट्कोस्कीसंगै असिम नेपाल टास्क टिम लिडर एण्ड अपरेशन अफिसर कन्ट्री एड्भाईजरी एण्ड इकोनोमिक्स आईएफसी, फारिया टासिन सिनियर अपरेशन अफिसर आईएफसी र कमलिका दास इकोनोमिस्ट साउथ एसिया कन्ट्री एड्भाईजरी एण्ड इकोनोमिक्स आईएफसी लगायतको सहभागिता रहेको थियो ।

1

Scroll to Top