Banijya News

नागढुङ्गा—सिस्नेखोला सुरुङमार्ग यो वर्ष सञ्चालनमा नआउने, व्यवस्थापनको जिम्मा भने अन्तराष्ट्रिय कम्पनीलाई

1
1.2K Shares

दसैँअघि नै सञ्चालनमा ल्याउने तयारी गरिएको नागढुङ्गा—सिस्नेखोला सुरुङमार्ग यो वर्ष सञ्चालनमा नआउने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले यसअघि दसैँअघि सञ्चालन गर्न निर्देशन दिएका थिए भने विभाग र निर्माण कम्पनीबीच परीक्षणसमेत गरिएको थियो। तर, सुरुङमार्गको सुरक्षा (सेफ्टी) पाटोमा देखिएका केही प्राविधिक समस्याका साथै दक्ष जनशक्तिको अभावका कारण सञ्चालनमा ढिलाइ भएको सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता श्याम बहादुर खड्काले बताएका छन्। यो सुरुङमार्ग नेपालमा सञ्चालनमा आउने पहिलो सुरुङमार्ग हो, जसको मुख्य सुरुङको लम्बाइ २.७ किलोमिटर र आपत्कालीनको २.६ किलोमिटर छ।

सडक विभागको हालको कार्यबोझ, सीमित अनुभव र उपलब्ध जनशक्तिबाट सुरुङको सञ्चालन एवं मर्मत कठिन हुने भएकाले विशेष तालिमप्राप्त दक्ष जनशक्तिमार्फत सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवा प्रदायक छनोट गर्न लागिएको छ। आयोजनाले आइतबार सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान गरेको छ। प्रवक्ता खड्काका अनुसार नेपाली कम्पनीसँग सुरुङ मार्ग सञ्चालनको अनुभव नभएकाले दुर्घटना वा आगलागीजस्ता जोखिम तत्काल व्यवस्थापन गर्न बाहिरबाट दक्ष जनशक्ति ल्याउनुपर्ने भएको हो। बोलपत्र बुझाउने अन्तिम दिन आगामी पुस २ गते (१७ डिसेम्बर २०२५) तोकिएको छ।

अनुभवी तथा सक्षम सेवा प्रदायक छनोट भएर गाडि सञ्चालन गर्न ४ देखि ५ महिनासम्म लाग्ने अनुमान गरिएको छ। यो अवधिमा विदेशी विज्ञहरुबाट नेपाली प्राविधिक र व्यवस्थापकलाई प्रविधि हस्तान्तरण हुने र भविष्यमा अन्य संरचना स्वदेशी जनशक्तिबाटै सञ्चालन गर्न सहज हुने अपेक्षा राखिएको छ। सुरुङ २४ सै घण्टा सञ्चालन गर्नुपर्ने र आपत्कालीन सेवा आवश्यक हुने भएकाले सेवा प्रदायकले शिफ्ट प्रणालीमा कर्मचारी खटाउने, आपत्कालीन टोली स्थापना गर्नेछ। यसका लागि १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ। जसमध्ये सुरक्षा व्यवस्थापन युनिटमा सबैभन्दा बढी ६४ जना र टोल उठाउन ५४ जना कर्मचारी रहने व्यवस्था छ।

धादिङको सिस्ने खोलादेखि चन्द्रागिरिको बलम्बुसम्म फैलिएको यो सुरुङ मार्ग प्रयोग गर्दा सडक २.५ किलोमिटर छोटो हुन्छ, जसले काठमाडौं प्रवेशको मुख्य नाकामा रहेको नागढुंगाको ट्राफिक जाम कम गर्न मद्दत पुग्नेछ। सुरुङमार्गबाट गुड्ने सवारी साधनका लागि सडक उपभोग दस्तुर सरकारले तोकिसकेको छ। जसमा कार तथा भ्यानका लागि काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ, मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा १ सय १५ र जाँदा ८० रुपैयाँ, तथा बस र ट्रकले काठमाडौं आउँदा २६० र जाँदा २०० रुपैयाँ तिर्नुपर्नेछ।

सुरुङ सञ्चालन र मर्मत व्यवस्थापन

  • १५० जनाको दरबन्दी: सुरुङको सुरक्षित सञ्चालनका लागि १५० जना कर्मचारीको दरबन्दी प्रस्ताव गरिएको छ।
  • कर्मचारीको व्यवस्थापन:
    • सुरक्षा व्यवस्थापन युनिट: ६४ जना (सबैभन्दा बढी)
    • टोल उठाउने (Toll Collection): ५४ जना
    • ट्राफिक अनुगमन तथा नियन्त्रण: १४ जना
    • सिभिल संरचना तथा अन्य मर्मत: ८/८ जना

सवारी साधनको दस्तुर (Toll Fee)

सरकारले सुरुङ मार्ग प्रयोग गर्ने सवारी साधनका लागि सडक उपभोग दस्तुर तोकेको छ:

सवारीको प्रकारकाठमाडौं आउँदाकाठमाडौं जाँदा
कार तथा भ्यान६५ रुपैयाँ६० रुपैयाँ
मिनिबस र मिनिट्रक११५ रुपैयाँ८० रुपैयाँ
बस तथा ट्रक२६० रुपैयाँ२०० रुपैयाँ
भारी उपकरण६०० रुपैयाँ२५० रुपैयाँ
1

Scroll to Top