Banijya News

नेपालबाट विदेशी लगानीकर्ताले लगे साढे १० अर्ब लाभांश

1
1.2K Shares

विदेशी लगानीकर्ताहरूले नेपालमा गरेको औद्योगिक तथा व्यावसायिक लगानीबाट पछिल्लो १५ महिनाको अवधिमा १० अर्ब २५ करोड ४७ लाख रुपैयाँभन्दा बढी लाभांश लगेका छन्। लगानी प्रतिबद्धताको तुलनामा न्यून लगानी भित्रिए पनि निरन्तर आएको वैदेशिक लगानीको प्रतिफलस्वरूप लाभांश वितरण गरिएको हो।

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा छ करोड ७० लाख ८२ हजार रुपैयाँ लाभांश वितरण गरिएको उद्योग विभागले जनाएको छ । गत आर्थिक वर्षमा १० अर्ब १८ करोड ७६ लाख रुपैयाँ लाभांश वितरण गरिएको थियो । लगानी प्रतिबद्धताको तुलनामा न्यून लगानी भित्रिए पनि निरन्तर आएको वैदेशिक लगानी र त्यसको प्रतिफलस्वरुप लाभांश वितरण गरिएको हो ।

सेवा, पर्यटन र सञ्चार प्रविधमा लगानी गरेबापत् ठूलो लाभांश लैजाने गरेको विभागले जनाएको छ । यसका अलावामा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि र उत्पादनमूलक उद्योग तथा व्यवासाय सञ्चालन गरी मुनाफा लैजाने गरेको उद्योग मन्त्रालयले जनाएको छ । नेपाल उद्योग तथा व्यवसाय क्षेत्रमा लगानी गरेबापत विदेशीहरुले निरन्तर लाभांश लैजाने गरेको उद्योग मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार मासिकरुपमा लाखौँ रकम लाभांशबापत लैजान गरेका छन् । उनीहरूले लगानी प्रस्ताव उद्योग विभागमार्फत गर्छन् भने लगानी भित्र्याउने तथा लाभांश लैजाने काम भने राष्ट्र बैंकमार्फत गर्छन् । विदेशी लगानीको हकमा लाभांश लैजान, लेखांकन गर्न भने राष्ट्र बैंकमार्फत गर्नुपर्ने हुन्छ त्यसैले गर्दा आर्थिक वर्षको अन्त्यमा कायम रहेको विनियम दर (खरिद र बिक्री दरको औसत)लाई लिई उक्त रकम मूल्यांकन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

१५ वटाभन्दा बढी मुलुकका लगानीकर्ताहरूले उक्त लाभांश रकम लगेका हुन् । नेपालको उद्योग क्षेत्रमा लगानी गरी सबैभन्दा धेरै लाभांश लैजानेमा भारतीय उद्योगी तथा व्यवसायीहरू रहेका छन् भने त्यसपछि क्रमशः आइरल्याण्ड, अष्ट्रेलिया, बेलायत, पाकिस्तान, मौरिसस, सिगांपुर, बंगलादेशलगायतका उद्योगी तथा व्यवसायीहरू रहेका छन् । पछिल्लो १५ महिनामा मात्र नभई सो भन्दा अघि पनि निरन्तर लाभांश लगेको विभागका तथ्यांकमा देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा १० अर्ब ३५ करोड ८५ लाख रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा मात्र १६ अर्ब ७६ करोड ९३ लाख रुपैयाँ लाभांश वितरण गरिएको छ । विभागले मासिकरूपमा लाखौं रकम लाभांश वितरण गर्दै आएको हुँदा लाभांश रकम मासिकरूपमा बढ्दै गएको देखिन्छ ।

यता विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका अनुसार पछिल्लो समय लाभांश रकम लैजानको लागि आवेदन प्रक्रिया पूरा गर्नेको संख्या बढ्दै गएसँगै लाभांश रकम बढ्दै गएको हो । लगानी गरेपछि प्रतिफल लैजान प्रक्रियागत र कानुनीगत समस्या नभएसँगै रकम लैजाने क्रमले निरन्तरता पाएको हो । विदेशी लगानीकर्ताले लगानी गरेपछि लाभांश लैजाने मात्र नभई यहाँको नियमअनुरूप विभिन्न दस्तुरहरू बुझाउने गरेका छन् । चालु आवको पहिलो तीन महिनामा ३८ करोड २२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । असोजमा मात्र एक करोड ३० लाख रुपैयाँ राजस्व संकलन भएको छ भने गत आवमा दुई अर्ब ७९ करोड पाँच लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

विभागले लाभांश वितरण राजस्व संकलनका साथै उद्योगको सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए)लगायतका कामहरू गरेको छ । समीक्षा अवधिमा विदेशी लगानीकर्ताहरूले नेपालमा रहेको उद्योगको लागि सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) गरेको पाइन्छ । सरकारले विदेशी लगानीलाई सहजीकरण गर्नका लागि स्वचालित मार्गबाट समेत लगानी भित्र्याउने र लाभांश वितरणको काम गरेको छ ।

विदेशी लगानीकर्ताले स्वचालित मार्गबाट नेपालमा लगानी गर्दा सातवटा औद्योगिक तथा व्यावसायिक क्षेत्रका ६० प्रकारका उद्योग तथा व्यवसायमा लगानी गर्न पाउने व्यवस्था गरिएको छ । लगानीपछि प्रतिफलस्वरुप लाभांश लैजाने गरेका छन् । विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला विभागले दर्ता गर्छ ।

1

Scroll to Top