करिब डेढ महिनादेखि आन्दोलनरत नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरूले आन्दोलन स्थगित गरेका छन्। आन्दोलनरत कर्मचारी र अर्थ मन्त्रालयबीच सहमति जुटेपछि उनीहरू आइतबारदेखि आन्दोलन रोकेर कार्यालयमा हाजिर भएका हुन्।
सहमतिअनुसार कर्मचारीहरूको सेवा सुविधा कटौती नहुने व्यवस्था गर्न सुझाव दिन एक अध्ययन समिति गठन गरिने भएको छ। अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री र कर्मचारी प्रतिनिधिबीच वार्ता भएको थियो।
सेबोन स्रोतका अनुसार सेबोनका सञ्चालक विनोदकुमार भट्टराईको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ। समितिमा सञ्चालक आनन्दराज शर्मा वाग्ले र सेबोनका दुई जना कर्मचारी सदस्य छन्। समितिलाई तीन दिनभित्र सुझावसहितको प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
अर्थ मन्त्रालयले भदौ ३१ गते पठाएको पत्रका कारण कर्मचारीहरूले आन्दोलन चर्काएका थिए। उक्त पत्रमा सेबोनको कर्मचारी कल्याण कोष कार्यविधि खारेज गर्ने र कोषबाट भुक्तानी भएको रकम असुलउपर गर्न निर्देशन थियो। यसलाई बोर्डको स्वायत्ततामाथि प्रहार र खाइपाई आएको सेवा सुविधा खोसिएको भन्दै कर्मचारीहरू असोज पहिलो सातादेखि आन्दोलनमा उत्रिएका थिए। उनीहरूले सेबोनका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई कार्यालय प्रवेशमा रोक लगाउँदै काम ठप्प पारेका थिए।


