Banijya News

सर्लाहीमा उखु किसान वर्षौंको बक्यौता नपाएपछि उद्योग गेटमा धर्ना

1
1.1K Shares

सर्लाहीको धनकौल गाउँपालिकामा अवस्थित अन्नपूर्ण चिनी उद्योग विरुद्ध उखु किसानहरू पुनः आन्दोलनमा उत्रिएका छन्। उद्योगले विगत लामो समयदेखिको उखुको भुक्तानी नदिएको भन्दै किसानहरूले आइतबारदेखि उद्योगको गेटमै धर्ना सुरु गरेका छन्। किसानहरूका अनुसार उनीहरूले आर्थिक वर्ष २०७०/७१ देखि नै उखुको रकम पाउन सकेका छैनन्।

उखु किसानका अगुवा राम आधार राय यादव ले उद्योगको बेइमानी र उदासीनताका कारण आफूहरू फेरि सडकमा आउन बाध्य भएको बताएका छन्। यादवका अनुसार अन्नपूर्ण चिनी उद्योगले किसानहरूलाई करिब ९ करोड ७० लाख रुपैयाँ तिर्न बाँकी छ, जुन २०७१ सालदेखिको बक्यौता हो।

किसानहरूले उद्योगपतिले धोका दिएको गुनासो गरेका छन्। २०८० साल फागुन ६ गते जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा उद्योगपतिले २०८१ साल जेठ मसान्तभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्ने लिखित प्रतिबद्धता जनाएका थिए। तर, सो प्रतिबद्धता अहिलेसम्म कार्यान्वयनमा नआएपछि किसानहरू आक्रोशित भएका छन्।

यता, अन्नपूर्ण चिनी उद्योगका प्रशासकीय प्रमुख रमेश प्रसाद श्रीवास्तव ले भने फरक धारणा व्यक्त गरेका छन्। उहाँका अनुसार, पुरानो भुक्तानीसम्बन्धी विवाद हाल सर्लाही जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको छ। श्रीवास्तवले उद्योगको स्वामित्व परिवर्तन भएकाले पुरानो मालिक (राकेश अग्रवाल) को समयको बक्यौता रकम कसले तिर्ने भन्ने विषयमा कानुनी विवाद चलिरहेको जानकारी दिए।

श्रीवास्तवले उद्योगको आर्थिक सङ्कट पनि औंल्याएका छन्। उनले गत वर्ष मिल सञ्चालन गर्दा उखुको मूल्य तोकिएको थिएन र उत्पादन (रिकोभरी) पनि अपेक्षाकृत कम आएकाले उद्योग आर्थिक दबाबमा परेको बताए।

तर, आन्दोलनरत किसानहरूले भने उद्योगका यी तर्कहरूलाई ‘बहाना मात्रै’ भएको भन्दै ठाडै अस्वीकार गरेका छन्। उनीहरूले उद्योगले विगतमा पनि पटक पटक यस्तै आश्वासन दिने र धोका दिने काम गर्दै आएको आरोप लगाएका छन्।

1

Scroll to Top