सोलु हाइड्रोपावर लिमिटेडले मंसिर ७ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा जारी हुने आईपीओमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । प्रतिशेयर १०० रुपैयाँका कुल कित्ता आईपीओमध्ये १ अर्ब रुपैयाँ बराबरको १ करोड आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो ।
स्थानीयमा जारी हुने कुल कित्ता आईपीओमध्ये पनि आयोजना अति प्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिकाको वडा नं. ७, ११ र थुलुङ दूधकोशी गाउँपालिकाको वडा नं. १ को स्थानिय बासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात ४० लाख कित्ता र सोलु दूधकुण्ड नगरपालिका र थुलुङ दूधकोशी गाउँपालिकाको अति प्रभावित वडा बाहेक अन्य वडामा बस्ने स्थानिय बासिन्दाहरुलाई ६० प्रतिशत अर्थात ६० लाख कित्ता आईपीओ निष्कासन गरिएको हो ।
त्यस्तै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको आईपीओमध्ये १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपीओ भने पहिलो चरणमै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागिएको हो । दुबै तर्फका आवेदकहरुले यी आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित स्थानीयमा यो आईपीओ निष्कासन अवधि छिटोमा मंसिर २१ गतेसम्म तोकिएको छ । सो अवधिभित्र माग बमोजिम आवेदन प्राप्त नभएमा भने ढिलोमा पुस ७ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी भएको आईपीओ भने छिटोमा मंसिर १० गते निष्कासन हुनेछ । यसका लागि पनि छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा मंसिर २१ गतेसम्म निष्कासन लम्बिनेछ ।


