१५ अर्ब अनुदान सहयोगमा भारतले बनाइदिने सम्झौता भएको पेट्रोलियम पाइपलाइन तथा भण्डारगृह परियोजना अघि बढाउन आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी)का अधिकारी सम्मिलित उच्चस्तरीय संयुक्त समितिको बैठक शुक्रबार ( आज ) बस्दै छ ।
संयुक्त समितिको बैठकका लागि आइओसीको टोली बिहीबार नै चितवन आइसकेको छ । उनीहरूले बिहीबार दिउँसो चितवनको लोथरस्थित पाइपलाइन र भण्डारगृह निर्माणस्थलको निरीक्षणसमेत गरेको आयल निगमका निर्देशक विनीतमणि उपाध्यायले जानकारी दिए ।
भारतले यसअघि अनुदान सहयोगमा मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन बनाइदिएको थियो । दुईवटा पाइपलाइन र एउटा भण्डारगृह भारतको आर्थिक तथा प्राविधि सहयोगमा तथा एउटा भण्डारगृहमा नेपालले लगानी गर्ने र भारतले प्राविधिक सहायता उपलब्ध गराउने गरी सम्झौता भइसकेको छ । सोही सम्झौताअनुुसार परियोजना अघि बढाउन दुवै देशका अधिकारी सम्मिलित संयुक्त समितिको बैठक बस्न लागेको उपाध्यायले जानकारी दिए ।
आइओसीको तर्फबाट नेपालका लागि कन्ट्री म्यानेजर निरूपम राइजादाले नेतृत्व गरेका छन् भने नेपालको तर्फबाट निगमका नायब कार्यकारी निर्देशक दीपक बरालको नेतृत्वमा करिब १० जनाको टोली रहनेछ । संयुक्त टोलीले परियोजनाको आर्थिक, प्राविधिक र प्रशासनिक समस्या सल्टाएर निर्माणकार्य अघि बढाउने जिम्मेवारी पाएको छ । ‘परियोजना स्थलमा कहाँ के राख्ने भनेर खाका तयार गर्नेलगायतका विषयमा ठोस निर्णय हुने गरी छलफल हुँदै छ,’ उनले भने ।
निगमका प्रवक्ता मनोज ठाकुरले संयुक्त टोली परियोजना अघि बढाउन गठन भएको उच्चस्तरीय समिति भएकाले छलफलबाट छिटो निर्माणकार्य अघि बढाउन मद्दत मिल्ने बताए । ‘आठ–नौवटा एजेन्डामा छलफल हुँदै छ, यो बैठकपछि निर्माणले गति लिन सक्ने अपेक्षा छ,’ उनले भने ।
निगमका उपनिर्देशक रामहरि निरौलाले दुवै देशका सरकारी कम्पनीको संयुक्त कार्यदलले परियोजना अघि बढाउन निरन्तर वार्ता गर्दै आएको बताए ।
भारतको शतप्रतिशत अनुदानमा अमलेखगन्ज–चितवन ६२ किलोमिटर लामो पाइपलाइनका लागि तीन अर्ब ८७ करोड २० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । यो लागत अनुमानमा ३० प्रतिशतसम्मको खर्च तलमाथि हुन सक्ने सर्त राखिएको छ । अमलेखगन्जसम्म पाइपलाइन आइसकेकाले त्यहीँबाट लोथरसम्म बिस्तार गर्न लागिएको हो । पूर्व–पश्चिम राजमार्ग हुँदै पाइपलाइन बिछ्याउन आइओसीको सर्भे टोलीले यसअघि नै सिफारिस गरिसकेको छ ।
त्यस्तै, पश्चिम बंगालस्थित भारतको आइओसीको सिलगुढी डिपोदेखि झापासम्म ५० किलोमिटर लामो पाइपलाइन बिछ्याउन चार अर्ब २७ करोड २० लाख रुपैयाँ लागत मूल्यांकन गरिएको छ । भारतपट्टि ३६ किलोमिटर र नेपालतर्फ १४ किलोमिटर पाइपलाइन बिछ्याइनेछ । झापाको मेचीनगर– १३ मा रहेको जग्गामा १८ हजार नौ सय किलोलिटर क्षमताको भण्डारगृह बनाइने र ६ अर्ब ८६ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । झापामा पेट्रोलको ६ हजार ६ सय किलोलिटर र डिजेलको १२ हजार तीन सय किलोलिटरको भण्डारगृह निर्माण गर्ने सम्झौता भएको छ ।
आयल निगमको खर्चमा चितवनको लोथरमा ९१ हजार नौ सय किलोलिटर क्षमताको भण्डारगृह निर्माण हुनेछ । सो परियोजनामा नौ अर्ब ४७ करोड २० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । चितवनमा पेट्रोल ३३ हजार किलोलिटर, डिजेल ४६ हजार पाँच सय किलोलिटर, मट्टीतेल १६ सय किलोलिटर र हवाई इन्धन १० हजार आठ सय किलोलिटरको भण्डारगृह बन्नेछ ।
भारतीय अुनदानमा तीनवटा परियोजना अघि बढाउन जेठ ०८० मा नै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबिच समझदारी भइसकेको थियो । प्रधानमन्त्रीस्तरमा भएको समझदारीलाई दुवै देशका तेल कम्पनीले कार्यान्वयन गर्ने सर्त भएअनुसार निगम र आइओसीबिच गत वर्ष १७ असोजमा बिटुबी सम्झौता भएको थियो ।


