Banijya News

स्वचालित मार्गबाट विदेशी लगानीका दुई सय ५१ परियोजना स्वीकृत

1
1.1K Shares

सरकारले डेढ वर्षअघि लागू गरेको विदेशी लगानी स्वीकृतिको स्वचालित मार्ग प्रति विदेशी लगानीकर्ताहरू बढी आकर्षित भएका छन्।

उद्योग विभागको तथ्याङ्क अनुसार, चालू आवको पहिलो चार महिनामा कृषि, पर्यटन, सूचनाप्रविधि, खानीजन्य लगायतका क्षेत्रमा कूल ३८२ ओटा परियोजनाहरू स्वीकृत भएका मध्ये २५१ ओटा परियोजना स्वचालित मार्गबाट स्वीकृत भएका छन्।

लगानी रकम भने परम्परागत प्रक्रियाबाट स्वीकृत भएका परियोजनामा धेरै छ । स्वचालित मार्गबाट ५० करोड रुपैयाँसम्मको मात्र लगानी स्वीकृति गरिने नियम लगानी रकम कम हुनुको कारण हो । तर, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै लगानीको स्वीकृति स्वचालित मार्गबाटै दिने कार्ययोजना सार्वजनिक गरिसकेको छ ।

उद्योग विभागले जारी गरेको विदेशी लगानीसम्बन्धी सूचनाअनुसार परम्परागत तवरबाट स्वीकृत भएका १३१ परियोजनाको कुल लगानी प्रतिबद्धता रकम ३४ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ छ । स्वचालित मार्गबाट स्वीकृत भएका २५१ परियोजनाको प्रतिबद्धता रकम २ अर्ब ३६ करोड ५८ लाख रुपैयाँ रहेको विभागले जानकारी दिएको छ । दुवै विधिबाट आएको कुल लगानी प्रतिबद्धता ३६ अर्ब ६८ करोड १६ लाख रुपैयाँ छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तेस्रो लगानी सम्मेलनको बेला २०८१ वैशाख १७ गते स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृत हुने व्यवस्था लागू गरेको थियो । त्यसका लागि उद्योग विभागले तयार गरेको विद्युतीय प्रणाली डब्ल्यूडब्ल्यूडब्ल्यूडट आईएमआईएसडट डीओआईएनडीडट जीओभीडट एनपी उद्घाटन गरिएको थियो । उक्त विद्युतीय प्रणालीमार्फत विदेशी लगानीकर्ताले नेपालमा सञ्चालन गर्ने उद्योग/परियोजना र त्यसमा गरिने लगानी स्वीकृत गराउँदै आएका छन् ।

विभागका अनुसार चालू आवको पहिलो चौमासिकमा ठूला ७, मध्यम ६ र साना ३६९ परियोजना प्रस्ताव भएका छन् । यसमध्ये कात्तिकमा ६९ ओटा साना परियोजना स्वीकृत भएका छन् । कात्तिकमा ठूला परियोजना स्वीकृत भएको छैन । विभागको तथ्यांकअनुसार परियोजना संख्या सूचना तथा प्रविधिमूलक, पर्यटन र सेवामूलक उद्योगमा धेरै देखिएको छ ।

सबैभन्दा धेरै लगानी प्रतिबद्धता कृषिमूलक उद्योगमा आएको छ । त्यसो हुनुमा चालू आवको शुरुआतमा वधशालासहित राँगाको मासु निर्यात गर्ने उद्योगमा २० अर्ब रुपैयाँ चिनियाँ लगानी प्रतिबद्धता आउनु रहेको विभागले बताएको छ । हिमालयन फुड इन्टरनेशनल नेपाल र सांघाई चियान फुड कम्पनी लिमिटेडको संयुक्त उपक्रमका रूपमा यो वधशालासहितको पूर्वाधार बनाउन लागिएको हो ।

1

Scroll to Top